
स्थानीय तह निर्वाचनमा तालमेल गर्ने विषयमा गोरखाका नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन्। चुनावी तालमेलले स्वस्थ प्रतिस्पर्धा नहुने र निषेधको राजनीतिक हुने भन्दै नेता कार्यकर्ताले असन्तुष्टि जनाएका हुन्।
गोरखामा गठबन्धनका चारवटा पार्टी मात्र छन्। यीमध्ये पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने गरेको छ। तर, मुख्य प्रतिस्पर्धी पार्टीहरूबीच गठबन्धन भएपछि अरू पार्टीहरूमा प्रतिस्पर्धा गर्नुको औचित्य नै नभएको उनीहरूको टिप्पणी छ। गोरखाका ११ स्थानीय तहमध्ये २०७४ को निर्वाचनमा ९ पालिका कांग्रेस र दुई पालिका माओवादी केन्द्रले जितेको थियो।
माओवादीको सशस्त्र द्वन्द्वका बेला दुवै पक्षबीच ठूलो जनधनको क्षति भएकाले दुवै पक्ष एक अर्कालाई मतदान गर्न तयार देखिँदैनन्। 'हँसिया हथौडामा भोट हाल्नुपर्छ भने भोट हाल्ने जान्न' भन्ने कांग्रेस कार्यकर्ताको आक्रोश छ भने, 'रूख चिह्नमा कुनै हालतमा भोट हाल्दिन्न' भन्ने माओवादी कार्यकर्ताको आक्रोश पनि सुनिएको छ।
गोरखामा कांग्रेस र माओवादीबीचको तालमेल अस्वाभाविक रहेको कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा तर्क गरे । गोरखापत्रमा शिवप्रसाद उप्रेतीले खबर लेखेका छन् ।