
लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा नेपाली कांग्रेसले उम्मेदवारको नाम छनोट प्रक्रिया शुरू गरेको छ तर उम्मेदवार छनोटमा वडादेखि नै किचलो देखिएको छ ।
नवलपरासी कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलको गृहजिल्ला हो । वैशाख ३० गते हुने निर्वाचनका लागि पहिलो चरणको नाम सिफारिसमै अधिकांश वडामा विवाद देखिएको छ तर कांग्रेसले तत्काल उम्मेदवारको नाम घोषणा नगर्न आग्रह गरेको छ ।
पार्टीको जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति २ नम्बर क्षेत्रको छुट्टाछुट्टै पत्रले उम्मेदवार चयनमा अन्योलसहित विवाद उत्पन्न गराएको छ । कांग्रेसको विधानमा सम्बन्धित तहहरूले उम्मेदवारको नाम पठाउँदा सबै तहको एक पद बराबर महिला अनिवार्यसहित बढीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ तर विवादका कारण वडाबाट एउटै पदमा ५–७ जना बढीको नाम आएको बताइएको छ ।
उम्मेदवारका लागि अहिले पनि नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पुनः दोहोरिने गरी सिफारिसका लागि नाम अघि सारेका छन् । केही नयाँ अनुहारका पनि छन् ।
जिल्ला समितिले जारी गरेको पत्रले अन्योल थपिएको प्रतिनिधिसभा २ नम्बर क्षेत्रीय समितिका सभापति मुकुल आचार्यले बताए । ‘यो पत्रले कुनै वडा कार्यसमितिले प्रमुख र उपप्रमुखको नाम पठाएका छन्, कुनै वडाले पठाइएका छैनन् । आफ्नो नाम पठाए सहमति जनाउने र नपठाए विवाद निकाल्ने कार्यले झन् अन्योलता छायो । विधानमा जे व्यवस्था छ, त्यही अनुरूप गर्नुपर्छ,’ आचार्यले भने ।
विधानमा नगर र गाउँपालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको नाम वडाले सिफारिस गर्नुपर्ने उल्लेख छैन ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको २ नम्बर क्षेत्रले जिल्ला कार्यसमितिले जारी गरेको पत्रको खण्डन हुने गरी अर्को पत्र जारी गरेको छ । पत्रमा नगर र गाउँपालिका अध्यक्ष/उपाध्यक्षको नाम वडा कार्यसमितिबाट सिफारिस गर्न अनिवार्य नभएको जनाएको छ । पत्रमा वडा कार्यसमितिले वडाध्यक्ष र सदस्यको नाम मात्र पठाउन भनिएको छ ।
तर जिल्ला सचिव उमेश यादवद्वारा हस्ताक्षरित पत्रमा आफ्नो रायसहित गाउँ/नगरका प्रमुख र उपप्रमुखको नाम पठाउन वडा कार्यसमितिलाई भनिएको छ । त्यसले केही वडामा नाम सिफारिस गर्न अन्योल भएको वडा सभापतिहरूले जनाएका छन् ।
केही वडाले प्रमुखहरूको नाम सिफारिस गरेर पठाउन थालेका छन् भने केहीले वडाको मात्र पठाउन थालेका छन् । सुस्ता गाउँपालिकाका अधिकांश वडा कार्यसमितिले अध्यक्ष र उपाध्यक्षको नाम छनोट गरेका छन् । केही वडा कार्यसमितिले अध्यक्षको मात्र र केहीले उपाध्यक्षको मात्र नाम छनोट गरी सिफारिस गर्न लागेका जानकारी आएको गाउँ कार्यसमितिका अध्यक्ष रविन्द्र जयसवालले बताए ।
रामग्राम नगर कार्यसमितिका सभापति श्रीधर बस्यालले विधानअनुसार नामावली सिफारिस गरी पठाउन सम्बन्धित वडाहरूलाई परिपत्र गरेकाले तोकिएको समयमा नामावली आउने बताए ।
उम्मेदवारको नाम टुंग्याउन सहज हुने भएकाले वडाबाटै राय सहितको प्रमुख र उपप्रमुखको नामावली पनि पठाउन जिल्लाले पत्राचार गरेको पार्टी जिल्ला सचिव कुलदिप आचार्यले बताए ।