धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको २५२ उडान नम्बरको एटीआर ७२ नामक जहाज नेपालगन्जमा अकस्मिक अवतरणपछि काठमाडौं आइपुगेको छ ।
बुद्धको जहाजमा सर्वोच्च अदालतका एक न्यायाधीश थिए । जहाज उडेको केही समयमै उनको स्वास्थ्यमा असहजता देखिएको र एकैछिनमा अचेत भएपछि नेपालगन्जमा अवतरण गरिएको बुद्ध एयरले जानकारी दिएको छ ।
बुद्ध एयरका अनुसार जहाजमा रहेका ती भीआईपी यात्रुलाई असहज भएकाले नजिकैको विमानस्थल नेपालगन्जमा जहाज अवतरण गरिएको हो ।
विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको पनि व्यवस्था थियो । स्वास्थ्यकर्मीको चेकजाँचपछि उनलाई सहज महसुस भएको र होसमा पनि आइसकेका थिए ।
ती यात्रु नेपालगन्ज विमानस्थलबाट आफन्तका साथ बाहिरिएपछि बुद्धको उक्त जहाज काठमाडौं आएको छ ।
यो जहाज धनगढीबाट ९ बजे उडेको थियो भने साढे ९ मै नेपालगन्ज अवतरण गरेको थियो । उक्त जहाजले यात्रु लिएर ११ बजे काठमाडौं आइसकेको बुद्ध एयरले जानकारी दिएको छ ।