
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बुधवार कार्यभार सम्हालेका छन् ।
मन्त्रिपरिषद्को मंसिर १३ गतेको निर्णयअनुसार घिसिङ सदस्य सचिवमा नियुक्त भएका थिए ।
राखेपका तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारीमुक्त गरेको र नयाँ सदस्य सचिव नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटउपर मंसिर ३० गते न्यायधीश हरि फुयाँलको एकल इजलासले सदस्य सचिव नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेपछि सदस्य सचिव घिसिङ राखेपमा अनुपस्थित थिए ।
मन्त्रिपरिषद्को कात्तिक १ गतेको निर्णयले सदस्य सचिव सिलवाललाई जिम्मेवारीमुक्त गरेको थियो ।
चैत २२ गते सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेपछि सदस्य सचिव घिसिङलाई काममा फर्कन बाटो खुलेको छ । ३ महिना ३ हप्तापछि सदस्य सचिव घिसिङ काममा फर्केका हुन् ।
कार्यभार सम्हालेपछि सदस्य–सचिव घिसिङले भने, ‘नेपाल खेलकुदका लागि यो अवधि सकसपूर्ण र पीडादायी भो । यसले खेलकुद क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । यो बीचमा नेपाली खेलकुद जति तीव्र रूपले अगाडि बढ्नुपर्ने हो, त्यसमा अवरोध भएको छ । अब त्यो अवरोधलाई चिर्दै खेलकुदलाई चलायमान बनाउन अगाडि बढ्ने छु ।’
त्यसअघि राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य सचिव कूलबहादुर थापा, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, कर्मचारी लगायतले सदस्य सचिव घिसिङको स्वागत गरेका थिए ।