२६ असार २०८३, शुक्रबार

नवरात्रका बेला पूजापाठ गर्न शक्तिपीठमा भक्तजनको भीड

नवरात्रका बेला पूजापाठ गर्न शक्तिपीठमा भक्तजनको भीड

चैते दशैं समेत भनिने चैत्र शुक्ल पक्षको नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्न थालेको छ ।

चैत १९ गतेदेखि शुरू भएको नवरात्रका अवसरमा सोही दिनदेखि राजधानी र बाहिरका शक्तिपीठमा भक्तजनको भीड लाग्न थालेको थियो ।

बुधवारदेखि धेरै भक्तजन शक्तिपीठमा जम्मा हुन थालेका छन् । बुधवार, बिहीवार र शुक्रवारलाई देवीको पूजा तथा आराधना गर्ने बारका रूपमा समेत लिने गरिएको छ ।

सामान्य अवस्थामा पनि यी बार शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए ।

राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी लगायत मन्दिरमा भक्तजनको भीड लागेको छ । यस अवसरमा विभिन्न मन्दिरमा विशेष अनुष्ठान पनि भइरहेका छन् ।
 
उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, उग्रतारा, शैलेश्वरीलगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । 
 
चैत्र नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने, सुख, शान्ति पाइने धार्मिक विश्वास छ । यस वर्ष चैत २६ गते शनिवार अष्टमी र २७ गते रामनवमी पर्व परेको छ । चैत २८ गते सोमवारसम्म नवरात्र मनाइन्छ । वर्षमा ४ नवरात्र पर्छन् । त्यसमध्ये आश्विन र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रलाई विशेष रूपमा मनाउने गरिन्छ ।

पुस र असार शुक्ल पक्षमा पर्ने नवरात्रलाई विशेष साधना गर्नेले मात्र मनाउँछन् । यसमध्ये पनि आश्विन शुक्ल पक्षको नवरात्रलाई भने नेपालमा राष्ट्रिय चाडका रूपमा बडादशैं मनाउने गरिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्