०९ साउन २०८३, शनिबार

मौसमको खराबीले उडान सामान्यरुपमा प्रभावित

कात्तिक २०, २०७४
मौसमको खराबीले उडान सामान्यरुपमा प्रभावित
काठमाडौँ, १८ पुस -मौसमको खराबीका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान सामान्य रुपमा प्रभावित भए ।

मौसम बद्लीसँगै हिमाली क्षेत्रमा हिमपातका कारण केही अन्तर्राष्ट्रिय उडान डाइभर्ट (अन्यत्र मोडिनु) र होल्ड (आकासमै अडिनु) का साथै उडान ढिलो भएका छन् भने आन्तरिकतर्फ कतिपय उडान रद्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बद्लीसँगै केही स्थानमा हिमपात तथा तराई क्षेत्रमा बाक्लो कुहिरो लागेका कारण उडानमा असर परेको हो । मौसम खराबीका कारण आज दिउँसो उडानमा केही समस्या भएपनि साँझदेखि नियमित उडान भइरहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रियतर्फ इत्तिहाद एयरवेजको विमान नयाँ दिल्ली डाइभर्ट गरिएको थियो भने अन्य उडानहरु एक देखि डेढ घन्टासम्म डिले भएका थिए ।

आन्तरिकतर्फ विराटनगरका केही उडान रद्द गरियो भने सोलुको लुक्ला विमानस्थलमा हिमपातका कारण कुनै पनि उडान भएन । प्रवक्ता ठाकुरले काठमाडौँभन्दा बाहिरको मौसम झनै बिग्रिएकाले उडानमा समस्या आएको उल्लेख गरे । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक, अन्तर्राष्ट्रिय र हेलिकोप्टरको समेत उडान हुनेहुँदा सामान्य अवस्थामा पनि अन्य दिन केही मिनेट उडान होल्ड गर्नुपर्ने बाध्यता रहेको विमानस्थलका अधिकारी बताउँछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल २८ वटा एयरलाईन्सले दैनिक ९० भन्दा बढी उडान भर्छन् भने आन्तरिकतर्फ १९ (१० विमान र ९ हेलिकोप्टर सहित) विमान कम्पनीले दैनिक १५० देखि २०० उडान भर्दै आएका विमानस्थलले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्