२३ जेठ २०८३, शनिबार

प्रधानसेनापति शर्माद्वारा कङ्गोमा निधन भएका स्व. गुरुङप्रति श्रद्धाञ्जली अर्पण

प्रधानसेनापति शर्माद्वारा कङ्गोमा निधन भएका स्व. गुरुङप्रति श्रद्धाञ्जली अर्पण

नेपाली सेनाले कङ्गोमा विद्रोहीको गोली लागेर निधन भएका प्युठ अनिल गुरुङको योगदान र वीरताप्रति सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित कार्यक्रममा नेपाली शान्ति सैनिकका रूपमा शान्ति स्थापना कार्यमा खटिएका बखत निधन भएका स्व. गुरुङको पार्थिव शरीरमा  सेनाको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरे ।

अफ्रिकी मुलुक कङ्गोमा चैत २२ गते सञ्चालन भएको अपरेशन ‘बाली’का क्रममा विद्रोहीबाट भएको फायरबाट घाइते भई स्थानीय बुनियाँस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

उनको पार्थिव शरीर मंगलवार स्वदेश ल्याइएको थियो । प्युठ गुरुङको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गर्दै सेनाले श्रद्धाञ्जली प्रकट गरेको हो ।

सुर्खेत जिल्लाको गुर्माकोट नगरपालिका जहरे निवासी गुरुङ कङ्गोमा तैनाथ नेपाली शान्ति मिसनमा कार्यरत थिए । रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा पनि स्व. गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरे ।

सो अवसरमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक रिचर्ड होवार्डले स्व. गुरुङको पार्थिव शरीरमा  संयुक्त राष्ट्रसंघको झण्डा ओढाइ सम्मान प्रकट गरे । त्यस अवसरमा नेपाली सेनाको टुकडीले स्व. गुरुङको सम्मानमा सलामी अर्पण गरेको थियो ।

त्यस अवसरमा प्रधान सेनापति महारथी शर्माले कङ्गोस्थित मिसनका फोर्स कमाण्डरले पठाएको समवेदना पत्र र अन्तिम दाहसंस्कारका लागि नेपाली सेनाबाट प्रदान हुने रकम मृतकका परिवारजनलाई हस्तान्तरण गरे । स्व. प्युठ अनिल गुरुङको पार्थिव शरीरलाई बुधवारै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगेर परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्