१९ असार २०८३, शुक्रबार

नवीन र प्रिन्स राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टनको फाइनलमा प्रवेश

नवीन र प्रिन्स राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टनको फाइनलमा प्रवेश

नेपाल आर्मीका नवीन श्रेष्ठ र रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधवार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नवीनले एपीएफका दीपेश धामीलाई २१–१९, १२–२१ र २१–१९ को सेटमा पराजित गरे । प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई १९–२१, २१–१७ र २१–१६ को सेटमा हराए ।

हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रालिद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला सिंगल्समा आर्मीकी अनुमाया राईले आर्मीकै प्रार्थना देउवालाई १६–२१, २१–१८ र २१–१५ तथा आर्मीकी रशिला महर्जनले एपीएफकी जेशिका गुरुङलाई २१–१४ र २१–११ को सेटमा पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

यू–१५ पुरुष सिंगल्समा सिल्क ग्रूपका कविर केसीले स्पोर्ट्स हबका सुनिल कार्कीलाई २१–१३ र २३–२१ तथा एनआरएनका साहिल चन्दले उदयपुरका रुमुहाङ राईलाई २१–१५ र २१–१९ को सोझो सेटमा हराउँदै फाइनल भिडन्त पक्का गरे ।

पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नवीनको जोडीले एपीएफका दीपेश धामी र विजित थापा मगरको जोडीलाई २२–२०, २३–२५ र २१–१४ तथा आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीले कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीलाई २१–१५, २१–२३ र २१–१७ को सेटमा पन्छ्याउँदै फाइनल यात्रा तय गरे ।

प्रतियोगितामा समावेश सम्पूर्ण ७ स्पर्धाको फाइनल बिहीवार हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्