बेलायती सैन्य विश्लेषक प्राध्यापक माइकल क्लार्कले पूर्वी युक्रेनमा रहेको मरिउपोल केही घन्टाभित्र रुसको पूर्ण नियन्त्रणमा आउन लागेको दाबी गरेका छन् ।
‘मरिउपोलका लागि अन्तिम लडाइँ अवश्यम्भावी छ । रातभरिमा नाटकीय घटना हुन सक्छ,’ स्काई न्युजसँग बोल्दै क्लार्कले बताए । ‘शुक्रवार बिहानसम्म शहर पूर्णतया रुसीहरूको कब्जामा नगएमा मलाई आश्चर्य लाग्नेछ ।’
त्यस्तै इज्युम कब्जा गरेपछि रुसी सैनिकहरू दक्षिणी युक्रेनको ठूलो भाग नियन्त्रणमा लिनका लागि अघि बढ्ने क्लार्कको भनाइ छ । त्यहाँ उनीहरूले जिते भने युक्रेनको उत्तरी भागतिर अगाडि बढ्न सक्नेछन् ।
‘केही समय त लाग्नेछ तर उनीहरूले युक्रेनीलाई मरिउपोलमा हराए भने त्यहाँ रहेका आफ्ना सैनिकहरू उत्तरतिर पठाएर ठूलो युद्धमा खटाउन सक्छन् । लगभग ८ हजार सैनिकहरूलाई खटाइन सक्छ,’ क्लार्कले बताए ।
युक्रेनीहरूलाई आजोभ सागरको तटमा दुईवटा ठाउँमा घेराबन्दी गरिएको क्लार्कको भनाइ छ ।
रुसको रक्षा मन्त्रालयले मरिउपोल आफूहरूको नियन्त्रणमा आएको भनी गरेको दाबी सही भएको क्लार्कको भनाइ छ ।