
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको चुनावमा अरू पार्टीसँग चुनावी तालमेल गर्ने/नगर्ने निर्णय गर्न कांग्रेसका तल्लो तहका कार्यसमितिहरू स्वतन्त्र रहेका बताएका छन् ।
नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले स्थानीय चुनावमा तालमेल कांग्रेसको लागि हितकर नभए पनि पार्टीको निर्णय भएकाले मानेको बताए ।
५ राजनीतिक दलको गठबन्धले चुनावी तालमेलका लागि सामान्य आधार बनाएको र कांग्रेसको तल्लो तहका समितिहरू चुनावी तालमेल गर्न वा नगर्न स्वतन्त्र रहेका उनले बताए ।
‘गठबन्धनमा रहेका दलहरूका बीचमा देशैभर छलफल भइरहेको छ । छलफलमा कुरा मिल्यो भने तालमेल हुन्छ, मिलेन भने तालमेल हुँदैन । कुरा मिलेन भने आफूआफू लड्न पाइन्छ, लड्न पाउनुपर्छ,’ थापाले भने ।
तल्लो तहका समितिले तालमेल नगर्ने निर्णय गरेपछि माथिल्लो समितिले तालमेल गर्नुपर्छ भनेर थोपर्न नपाउने उनले बताए । ‘यसरी थोपरेको कुरा तल्लो कमिटीले मान्दा पनि मान्दैन । भूइँमा खसेको टिप्छु भन्दा पोल्टाको पोखिने डर हुन्छ । पहिला आफ्नो–आफ्नो घर सम्हाल्नुपर्छ । आफ्नो घर सम्हालेपछि मात्रै अरुको घर सम्हाल्न सकिन्छ,’ थापाले भने ।
कतिपय जिल्लामा तालमेल गर्दैनौं भनिरहेकाले उनीहरूको निर्णयलाई सम्मान गर्नुपर्ने थापाले बताए ।
‘कतिपय जिल्लाका साथीहरूले तालमेल गर्दैनौ भनिरहेका छन् । उहाँहरूको तालमेल नगर्ने निर्णयलाई हामीले सम्मान गर्नुपर्छ । तालमेल गर्छौ मिलेर जान्छौ भन्छन् भने त्यसलाई पनि मान्नुपर्छ । स्थानीय चुनावमा को–कोसँग मिलेर जाने वा नजाने स्थानीय समितिले निर्णय गर्छन् । माथिबाट थोपर्ने हो भने सबै कुरा बिग्रन्छ,’ थापाले भने ।
पार्टीले स्थानीय अवस्था र आवश्यकता हेरेर तालमेल गर्ने वा नगर्ने निर्क्यौल गर्ने भनेर निर्णय गरेकाले स्थानीय समितिले त्यहाँको वस्तुस्थिति हेरेर तालमेल गर्ने वा नगर्ने निर्णय गर्न सक्ने उनले बताए ।
‘गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि यो हितकर छँदै छैन भन्ने मेरो आफ्नो मत हो तर पार्टीको निर्णय मानेको छु । मान्नुपर्छ । यो विषयमा बहस गर्नैपर्छ,’ थापाले भने ।