रुसको युद्धपोत मोस्क्वामा आगो लागेको तर त्यो कृष्ण सागरमा तैरिरहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ ।
के कारणले युद्धपोतमा आगो लागेको स्पष्ट नभएको अमेरिकाका रक्षा अधिकारीहरूले बताएका छन् ।
युक्रेनको दक्षिणी सैन्य कमान्डले बुधवार मोस्क्वा जहाजमा नेप्चुन एन्टी शिप क्षेप्यास्त्र प्रहार गरेको र त्यसले जहाजलाई डुबाइदिएको दाबी गरेको थियो ।
रुसको रक्षा मन्त्रालयले घटनाको अनुसन्धान गरिरहेको बतायो । तर जहाज डुबेको समाचारलाई उसले खण्डन गरेको छ । जहाजमा लागेको आगो पनि निभाइसकेको उसले बतायो ।
मोस्क्वालाई उद्धार गर्न चारवटा रुसी जहाजहरू गएको तर मौसम खराब भएकाले उद्धारकार्यमा बाधा पुगेको रुसको भनाइ छ । जहाजमा भएका हतियारहरू पड्केका कारण आगो लागेको जानकारी पनि उसले दिएको छ ।
घटनाक्रमलाई नेटोको विमानले कृष्ण सागरमा नजिकैबाट निगरानी गरिरहेको छ ।
पेन्टागनका प्रवक्ता जोन कर्बीले बताए, ‘के भएको हो भन्ने सुनिश्चित छैन । जहाजमा एक विस्फोट भएको र त्यसले जहाजलाई उल्लेख्य क्षति गरेको हामीलाई थाहा छ ।’
क्षतिग्रस्त युद्धपोत कृष्ण सागरतर्फ गएको उनले बताए ।
जहाजमा रहेका ५१० जना कर्मचारीलाई उद्धार गरिएको र जहाजलाई अन्य जहाजले तानेर लगेको रुसको सरकारी सञ्चारमाध्यमले खबर दिएका छन् ।
के कारण विस्फोट भएको भनी अमेरिकाले पुष्टि गर्न सकेको छैन । तर घटनापछि अन्य रुसी जहाजहरू कृष्ण सागरमा युक्रनी तटबाट २० माइल पर गएको अमेरिकी रक्षा अधिकारीले बताए ।