२० असार २०८३, शनिबार

कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै नराखे कारबाही हुने

बैशाख ३, २०७९
कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै नराखे कारबाही हुने

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको संकलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ ।

त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह समेत गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने निर्णय गरेको जानकारी दिए । अब महानगरले हप्ताको ३ दिन कुहिने र हप्ताको १ दिन नकुहिने फोहोर संकलन गर्ने निर्णय गरेको जानकारी उनले दिए । उनका अनुसार महानगरले यो निर्णय केही दिनभित्रै कार्यान्वयनमा ल्याउने छ ।

उनले भने, ‘अब फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउँदै जाने नीति महानगरले लिएको छ । अब घरवालाले नै फोहोर संकलन गर्ने सवारीसाधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने हुन्छ ।’

कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्दा सोको व्यवस्थापनमा समेत सहज हुने बताउँदै उनले छुट्याइएको फोहोर लिने गाडी पनि फरक–फरक दिन आउने भएकाले व्यवस्थापन गर्न थप सहज हुने विश्वास व्यक्त गरे ।

कुहिने र नकुहिने वर्गीकरण नगरी फोहोर संकलन गर्ने सवारीसाधनसम्म फोहोर ल्याए सम्बन्धित व्यक्तिको घरमा नै पुनः फर्काइने बताउँदै उनले सो व्यक्तिलाई कारबाहीस्वरूप ५०० रुपैयाँ जरिवाना समेत गर्ने जानकारी दिए । महानगरको निर्णयलाई नमानेको अवस्थामा फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्डजरिवाना गर्ने महानगरले जनाएको छ ।

काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्दछ । यसबाहेक संकलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्यांक यकिन छैन । १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्यान्डफिल साइटमा पुर्‍याउने गरिएको छ । 

उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेस्रो धेरै फोहोर उत्पादन हुने नगर हो । यस नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र  बूढानीलकण्ठ गरी चारवटा नगर क्षेत्रबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्यांकले देखाउँछ । यी नगरहरू फोहोर उत्पादनका कोणबाट चौथा ठूला नगर हुन् । त्यसपछि काठमाडौंको चन्द्रागिरि, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्रबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । यी नगर पाँचौं स्थानमा परेका छन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्