
बर्दियाको बँदेल सबैको प्रिय परिकार मानिन्छ । बर्दियाको बँदेलको स्वाद नै फरक हुने हुँदा धेरैको रोजाइमा पर्छ ।
राणा तथा राजकीय भोजनमा बँदेल नहुँदा अधुरो मानिने हुँदा अनिवार्य रूपमा समावेश गरिएको हुन्छ ।
बँदेलको मासु समुदायअनुसार फरक–फरक हुन्छ । कसैले सेकुवा बनाएर खान्छन् त कसैले डामेर । कुनै समुदायलाई करी बनाएर मनपर्छ भने कुनैलाई बार्बक्यु गरेर खान मन पर्छ ।
यहाँ हामीले चर्चा गर्न लागेको भने बर्दियाको डामेको बँदेलको विषयमा हो । बर्दियाकै मासु खान भनेर कति राजधानीवासी बर्दिया पुगेका हुन्छन् । बँदेलको मासु खाने शौख धेरैमा हुन्छ र अन्य मासुभन्दा छिट्टै धित मर्ने पनि हुन्छ ।।
बर्दियाको बँदेल डामेको बनाउन चाहिने सामग्रीः
बर्दियाको बँदेलको मासु (छाला, बोसो, फलमासुको लेयर मिलेको) १ किलोग्राम, नून स्वादअनुसार, बेसार १ र आधा चिया चम्चा, तोरीको तेल आधा कप, टिमुरको धुलो आधा चिया चम्चा, अदुवा–लसुनुको पेस्ट १ र आधा चिया चम्चा, जिराको धुलो आधा चिया चम्चा, धनियाँको धुलो आधा चिया चम्चा, अकबरे खुर्सानीको धुलो १ चिया चम्चा, हरियो धनियाँ आधा मुठा, कागतीको रस २ चिया चम्चा ।
बर्दियाको बँदेल डामेको बनाउने विधिः
नून बेसार, कागतीको स्लाइस हालेर बँदेलको ढिक्का मासुलाई ४५–५० मिनेट सानो आँचमा बोइल गर्ने र पाक्ना साथ एउटा बाटामा चिस्याउन राख्ने । चिसो हुनासाथ पातलो स्लाइसमा काटेर तोरीको तेलमा रातो हुने गरी डाम्ने । अन्त्यमा अदुवा–लसुनको पेस्ट हालेर एकछिन डामेपछि बाँकी सबै मसला हाली सानो आँचमा डाम्दै जाने र सर्भ गर्ने समयमा काटेको धनियाँ र कागतीको रस हाली तातो–तातो पस्कने ।
दिइएका सामग्री हालेर मोली बँदेलको सेकुवा या तास पनि बनाएर खान सकिन्छ, दुवै परिकार अति नै स्वादिष्ट हुन्छन् ।