३० असार २०८३, मंगलबार

रासायनिक मल अभावले झापाको केराखेती संकटमा

रासायनिक मल अभावले झापाको केराखेती संकटमा
प्रतिकात्मक तस्वीर

झापामा केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । 

विगतमा ५० बिघा जमिनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी सोचेभन्दा कम भएपछि यसपाली ३० बिघाको केराखेती मासेको बताए । शुरूमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती शुरू गरे पनि मल अभाव र लकडाउनका कारण केराखेतीबाट ठूलो घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । 

विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गासमेत जग्गा धनीलाई नै फर्काउँदै केराको खेती घटाउन थालेका छन् । विगतमा जिल्लाको कनकाई–५, शिवसताक्षी नगरपालिका–७, बाह्रदशी गाउँपालिका–६ र झापा गाउँपालिका–७ मा दुर्गामाता तथा कोलाखेती कृषि फार्मले ४०० बिघा जमिनमा व्यावसायिक केराको खेती गर्दै आएका थिए । 

किसानहरू बेनु पराजुली, हिमदल पराजुली, कुलप्रसाद चिमरिया, लक्ष्मी चिमरिया र गणेश संग्रौलाले संयुक्तरुपमा फार्म सञ्चालन गरेका थिए । उनीहरूले स्थानीय किसानको जग्गा ५ वर्षका लागि भागमा लिएर सामूहिक केराखेती शुरू गरे पनि ३ वर्षमै लगानी समेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केरा खेती मास्न थालेका हुन् । 

केराखेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रूपमा परिचित दुर्गामाता तथा कोलाखेती कृषि फार्मले यसपाली लगभग १०० बिघा जग्गाको केराखेती मासेको छ । खेतीमा चाहिएका बेला रासायनिक मल नपाइने भएको हुँदा उत्पादनमा ह्रास आउने गरेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताइन् ।

वर्षमा केरालाई ३ पटकसम्म मल लगाउनुपर्ने जनाउँदै उनले गत वर्ष एकपटक समेत मल लगाउन नपाउँदा उत्पादनमा ह्रास आएको गुनासो गरिन् । केराखेती गर्नका लागि युरिया, डीएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ । 

‘विगतमा कृषि ज्ञान केन्द्रको सिफारिसका आधारमा साल्ट ट्रेडिङको कार्यालयले आवश्यक मात्रामा मल दिने गरेको थियो,’ केराखेती गर्दै आएका कनकाइका किसान बेनु पराजुलीले भने, ‘तर अहिले त्यसरी दिँदैन, स्थानीय तहका सहकारीमार्फत पाइने हुँदा हामी जस्ता फार्म खोलेर खेती गर्दै आएको किसानलाई समस्या छ ।’ – चन्द्रकला भण्डारी/रासस

salt training

कमेन्ट गर्नुहोस्