१९ असार २०८३, शुक्रबार
सरकारी सेवामा महिला

निजामती सेवामा अब्बल नेतृत्वकला देखाउँदै महिला हाकिम सा’प

बैशाख ३, २०७९
निजामती सेवामा अब्बल नेतृत्वकला देखाउँदै महिला हाकिम सा’प
क्रमशः प्रमिला, सन्ध्या, जमुना र माया

कुनै बेला निजामती क्षेत्रमा महिला कर्मचारी पाउन मुस्किल पर्थ्यो । निजामतीमा पुरूषकै बाहुल्यता थियो । निजामतीको खरिदार तहमा पनि पुरूष नै हुन्थे ।

समावेशिता र लक्ष्यका साथ अध्ययनमा लागेपछि अहिले आएर निजामती क्षेत्रमा महिलाको संख्या बढ्दै गएको छ । संख्या मात्र बढेको छैन, केही सरकारी कार्यालयहरू पनि महिलाले नै हाँकिरहेका छन् । 

आम जनमानसमा हाकिम/कार्यालय प्रमुख भन्ने बित्तिकै मस्तिष्कमा पुरूषको मात्रै चित्र नाच्ने गर्छ तर निजामती क्षेत्रमा केही यस्ता महिला ‘कमान्डर’ छन्, जसले आफ्नो क्षमतालाई कुशलतापूर्वक निर्वाह गरिरहेका मात्रै छैनन्, अब्बल रूपमा सरकारी कार्यालय हाँकिरहेका पनि छन् ।

तिनैमध्येका हुन् नापी कार्यालय गुल्मी मजुवाकी सन्ध्या ढकाल, जिल्ला निर्वाचन कार्यालय गुल्मीकै निर्वाचन अधिकृत माया कुँवर, करदाता सेवा कार्यालय गुल्मीकै प्रमुख जमुना गिरी र जिल्ला हुलाक कार्यालय गुल्मीकै प्रमुख प्रमिला भण्डारी ।

उनीहरू सबै युवा हुन् । ४ जना नै ३५ वर्षमुनिका छन् । जिल्ला स्तरीय ४ सरकारी कार्यालयमा महिलाले प्रमुख भएर काम गरिरहेका छन् । कार्यकक्षमै महिला कार्यालय प्रमुख देख्दा सेवाग्राहीदेखि नेतासम्मले समेत अनौठो मान्छन् ।

केही समयअघि गुल्मीमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि महिला नै थिइन् । रुद्रा शर्माले जिल्लाको सीडीओ भएर डेढ वर्ष जिल्ला सम्हालेकी थिइन् । निजामती कर्मचारी राज्यका स्थायी सरकार मानिन्छन् ।

‘कार्यालय प्रमुख हुँ भन्दा सेवाग्राहीले पत्याउँदैनन्’

पोखराकी सन्ध्या ढकाल गुल्मीको ईलाका नापी कार्यालय मजुवाकी कार्यालय प्रमुख हुन् । २५ वर्षकी सन्ध्या मातहत कार्यालयमा ६ जना पुरुष र ४ जना महिला गरी १० जना कर्मचारी छन् । कार्यालयले गुल्मीका तत्कालीन २५ वटा गाविसलाई हेर्ने गर्छ । मजुवा गुल्मीको सदरमुकाम तम्घासदेखि २० किलोमिटर दूरी टाढा छ ।

स्याङ्जाको आँधीखोला गाउँपालिकामा जन्मिएकी सन्ध्याको परिवार अहिले पोखरामा बस्दै आएको छ । 

ब्याचलर इन जियोम्याट्रिक इन्जिनीयरिङ अध्ययन गरेकी उनले गत भदौमा पहिलो पटकमै शाखा अधिकृतमा नाम निकालेर निजामती सेवामा प्रवेश गरेकी हुन् । ‘सेवा प्रवेशसँगै कार्यालय प्रमुख बन्ने अवसर जुर्‍यो,’ सन्ध्या भन्छिन्, ‘कुनै पनि सेवाग्राहीलाई कार्यालय प्रमुख हुँ भन्दा पनि विश्वास गर्दैनन् । कुनैले चाहिँ यति सानो उमेरमै हाकिम भएको भनेर खुशी व्यक्ति गर्दै छिट्टै माथिल्लो तहमा पुग्नुहोला पनि भन्छन् ।’

नयाँ ठाउँ, नयाँँ मान्छेसँग काम गर्न उत्साहको अनुभूति भएको ढकालले बताइन् । नापी अप्ठ्यारो कार्यालय रहे पनि आफूले नेतृत्व गरेपछि कार्यालयमा कुनै पनि ठगीसम्बन्धी गतिविधि नभएको उनले बताइन् । उनलाई घरपरिवारबाटै लोक सेवा पढ्न प्रेरणा मिलेको हो ।

सन्ध्याका बुवा उच्च सरकारी वकिल कार्यालय बाग्लुङमा नायब सुब्बा छन् भने आमा मालपोत कार्यालय कास्की पोखरामा नासु पदमै कार्यरत छिन् । देशको सेवा गर्न मेहनत गर्नेका लागि निजामती सेवा सबैभन्दा राम्रो रहेको उनी बताउँछिन् ।

चुनावको संघारमा निर्वाचन कार्यालय हाँकेकी माया

जिल्ला निर्वाचन कार्यालय गुल्मीकी प्रमुख माया कुँवर निजामती क्षेत्रकी एक सफल हस्ती हुन् । उनी सफल प्रशासकमा पर्छिन् । गुल्मीकै रेसुंगा नगरपालिका–२ की माया निर्वाचन कार्यालय गुल्मीमा २०७७ फागुनदेखि कार्यालय प्रमुखको रूपमा जिम्मेवारीमा छिन् । स्थानीय तहको निर्वाचन संघारमै आएको छ । यो महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने दायित्व मायाकै काँधमा छ । ३४ वर्षीया कुँवर २०७४ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी हुन् । उनी यसअघि म्याग्दीमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिइन् ।

उनी परिवार व्यवस्थापन र आफू हुर्केको जिल्लामा काम गर्ने चाहनाले गृहजिल्ला रोजेर आएकी हुन् । निर्वाचन वर्ष, महिला र जोखिमका हिसाबले कार्यसम्पादनमा कुँवरमाथि थुप्रैका आशंका छन् । उनले महिला नेतृत्वमा पुगे पनि कार्यक्षमतामा आशंका हुने गरेको भन्दै महिलाहरू काम गर्न सक्षम रहेको बताइन् ।

महिलालाई सक्षम बनाउने आफ्नो इमान्दारिता र कठोर परिश्रम भएको कुँवरको बुझाइ छ । पहिलेको गृह प्रशासनको अनुभव र विशेष जिम्मेवारीका कारण चुनौतीको व्यवस्थापन गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उनको आत्मविश्वास छ । 

‘सेवाग्राहीले नानी, बैनी भनेर बोलाउनुहुन्छ’

गुल्मीको करदाता सेवा कार्यालय प्रमुख हुन् जमुना गिरी । उनले कार्यालयको नेतृत्व सम्हालेको लामो समय भएको छैन । कार्यालय स्थानीय तहका करदाताले कर बुझाउने ठाउँ हो । बागलुङको बडिगाड गाउँपालिका–२ की जमुनाले २०७६ असारमा नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरिन् भने गत फागुनमा अधिकृतमा नाम निकालेर कार्यालय प्रमुखको रूपमा गुल्मी आएकी हुन् ।

प्रशासन/राजस्व समूहमा अधिकृत तहमा उनले महिला तर्फबाट १ नम्बरमा नाम निकालेको बताइन् । उनी २०७८ फागुन ५ गतेदेखि गुल्मीमा कार्यरत छिन् ।

‘जिल्लामा काम गर्न अप्ठ्यारो छैन,’ गिरी भन्छिन्, ‘अहिले सेवाग्राहीको त्यति धेरै चाप छैन । सेवाग्राहीले बैनी, नानी भनेर बोलाउनुहुन्छ । मैले पनि त्यो सम्बोधनलाई सहज रूपमै स्वीकार गर्छु ।’

गुल्मी ग्रामीण क्षेत्र भएको जिल्ला हो । यहाँ आउने सेवाग्राहीले बैनी, नानी भन्नु स्वाभाविक पनि रहेको जमुनाको बुझाइ छ । जमुना मातहत अहिले ५ जना कर्मचारी छन् । 

आफू नेतृत्वमा पुगेपछि अवसर र सिकाइ दुवै रहेको जमुनाले बताइन् । ‘नेतृत्व गर्ने अवसर त पाएँ । अब केही सिकाइ र तालिमको अभाव छ । म अध्ययन सिकाइमा पनि जुटेकी छु । अब ४ वर्ष उपल्लो तहमा प्रतिस्पर्धा गर्न पनि पाइँदैन । त्यो बेलासम्म आफ्नो काममा निखार ल्याउनेछु,’ जमुनाले भनिन् ।

सरकारले करको दायरा विस्तार गर्ने अभियान लिएकाले त्यसमा आफू निरन्तर जुटेको उनले बताइन् । 

प्रमिला भण्डारी हुलाक अधिकृत

गुल्मीको छत्रकोट गाउँपालिका–१ की प्रमिला भण्डारी जिल्ला हुलाक कार्यालय गुल्मीकी कार्यालय प्रमुख हुन् । ३२ वर्षकी भण्डारी २०६९ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी हुन् । निजामती सेवालाई समाजको मर्यादित र प्रतिष्ठित पेशाका रूपमा लिइन्छ तर बढ्दो आकर्षणका कारण लोक सेवामा चर्को प्रतिस्पर्धा हुन्छ । त्यसैले लोकसेवा पास गर्न अथक मेहनत र नियमित अध्ययन जरुरी हुने भण्डारी बताउँछिन् ।

उनी तत्कालीन भूमिसुधार तथा व्यवस्थापन मन्त्रालय, राष्ट्रिय योजना आयोग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हुँदै गुल्मी आएको हुन् ।

भण्डारीका पति पनि उपसचिव छन् । उनले आफू निजामती सेवाकै परिवेशमा हुर्केकाले हौसला मिलेको बताइन् । उनले आफ्नो जन्मभूमिमा सेवा गर्ने अवसर जुटेको बताइन् ।

‘निजामती सेवामा प्रवेश गरिसकेपछि सरकारले जुनसुकै स्थानमा खटाए पनि आफ्नो पेशागत आचरणमा रहेर काम गर्नु धर्म हो,’ उनले भनिन्, ‘जन्मभूमिको मायाले थप कर्तव्यबोध गराएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्