२२ असार २०८३, सोमबार

६७ प्रतिशतले घट्यो वीरगञ्जबाट हुने गाडी आयात

बैशाख ४, २०७९
६७ प्रतिशतले घट्यो वीरगञ्जबाट हुने गाडी आयात
तस्वीर सौजन्य : आर्थिक अभियान दैनिक

बढ्दो आयातले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै सरकारले लिएको आयात निरुत्साहन नीतिको प्रभाव देशको मुख्य भन्सार नाकामा देखिएको छ ।

सरकारले गरेको कडाइको फलस्वरूप सवारीसाधन आयात ६७ प्रतिशतले घटेको छ । वीरगञ्ज नाकाबाट हुने गाडी आयात पोहोर चैतको तुलनामा यसपालि ६७ प्रतिशतले घटेको हो । मोटरसाइकलको आयात पनि ५४ प्रतिशतले घटेको छ ।

आयात हुने वस्तुको शीर्षस्थानमा रहेको डिजेल पैठारी २२ प्रतिशतले घटेको छ । चैतमा औद्योगिक कच्चा पदार्थको आयात समेत खस्किएको भन्सारको तथ्यांकले देखाउँछ । फलाम, तेल, प्लास्टिकलगायत औद्योगिक कच्चा पदार्थको आयात परिमाण पनि घटेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को चैतमा आयात व्यापार र त्यसबाट हुने राजस्व संकलन दुवै घटेको छ । आयातमा गरिएको कडाइको प्रभाव भन्सार नाकामा देखिएको पौडेलले बताए ।

‘चैत दोस्रो सातायता भन्सारबाट नयाँ सवारीसाधनको जाँचपास भएको छैन । दैनिक उपभोग्य वस्तुको आयात समेत घटेको छ,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘आयात घटेपछि त्यसको असर राजस्वमा पनि देखिने नै भयो ।’ वीरगञ्ज भन्सारले चैतमा लक्ष्यको ९२ प्रतिशत मात्र राजस्व उठाएको छ ।

१७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा १६ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको भन्सारको तथ्यांकले देखाउँछ ।

भन्सार कार्यालयले चालू आवको चैतसम्म (९ महीना)मा १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम लक्ष्यभन्दा २ प्रतिशत बढी भएको पौडेलले बताए । कुल राजस्व लक्ष्यभन्दा बढी उठे पनि आयातमा गरिएको कडाइले पछिल्लो एक महीनाको आयात र राजस्व प्रभावित भएको उनको भनाइ छ ।

अन्तरराष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि र आन्तरिक नीतिमा देखिएको अन्योलको असर आयातमा देखिएको व्यवसायी बताउँछन् । ‘कोरोना महामारीले पारेको असर र रूस–युक्रेन तनावले बाह्य बजारमा मूल्यको दबाब बढेको छ । यस्तोमा आन्तरिक नीतिले उद्यमी, व्यापारी अन्योलमा परेका छन् । त्यसको प्रभाव व्यापारको परिमाणमा देखिएको हो,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले भने । आर्थिक अभियान दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्