
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा सहुलियत ब्याजदरमा प्रदान गरिँदै आएको पुनर्कर्जा एक खर्ब ३४ अर्ब ११ करोड रुपियाँ पुगेको छ ।
फागुन मसान्तसम्ममा एक लाख ४४ हजार ६२० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १५ अर्ब ७६ करोड रुपियाँ कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ५९ हजार ५६० ऋणीलाई प्रवाह भएको एक खर्ब ३७ अर्ब ७९ करोड रुपियाँ कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजार १९७ महिला उद्यमीलाई प्रवाह भएको ७४ अर्ब १७ करोड रुपियाँ कर्जा रहेको छ ।
कर्जा लिनेमा महिला उद्यमशील कर्जा लिनेहरू सर्वाधिक ८२ हजार १९७ छन् भने व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा लिनेहरू ५९ हजार ५६० जना रहेका छन् । विदेशबाट फर्केका युवा परियोजना कर्जा लिने ९५९ जना छन् भने दलित समुदाय व्यवसाय विकास कर्जा लिनेहरू एक हजार १०९ जना छन् ।
यस्तै कपडा उद्योग सञ्चालन कर्जा लिने २५७ जना छन् भने शिक्षित युवा स्वरोजगार कर्जा लिने १५३ जना छन् भने उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिने १४२ जना रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि दिइने कर्जा लिनेको सङ्ख्या केबल दुई जना रहेका छन् भने युवा वर्ग स्वरोजगार कर्जा लिने भने २५ जना रहेका छन् । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ८६३ ऋणीको तीन अर्ब ८० करोड रुपियाँ कर्जा बक्यौता रहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।