०३ साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

भरतपुर महानगर माओवादीलाई छाड्ने देउवाको संकेत, कांग्रेस कार्यकर्ताहरूले घोषणा गरे स्वतन्त्र उम्मेदवारी

भरतपुर महानगर माओवादीलाई छाड्ने देउवाको संकेत, कांग्रेस कार्यकर्ताहरूले घोषणा गरे स्वतन्त्र उम्मेदवारी

लोकान्तर डटकमको नियमित प्रस्तुती ‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । अरु दिनझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित भएका छौँ–

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलहरुलाई धोका दिन नसकिने बताएका छन् ।  शनिबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले गठबन्धन दलहरुकै सहयोगमा  आफू प्रधानमन्त्री बनेको उल्लेख गर्दै अहिले आएर सहयात्री दलहरूलाई धोका दिन नमिल्ने धारणा राखेको एक कार्यसम्पादन समिति सदस्यले बताए ।

केही नेताहरुले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि उनले यस्तो बताएका हुन् ।  देउवाले पार्टीले नै गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको भन्दै आफूले त्यहीअनुसार गठबन्धन दलसँग सहमति गरेको धारणा पनि राखे ।

देउवाले बैठकमा चितवनको भरतपुर महानगरपालिका माओवादीलाई छाड्ने संकेत पनि गरे ।  बैठकमा नेताहरुले भरतपुरको मेयर कुनै हालत छाड्न नहुने बताएका थिए । तर, देउवाले भरतपुर नगर कमिटीको सभापतिले आफूसँग उपमेयर लड्न तयार छु भनिसकेको बैठकमा बताएको ती नेताको भनाइ छ ।

०००

मोरङमा गठबन्धन दलका नेताहरूबीच दूरी बढिरहेका बेला नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयर र उपमेयरका उम्मेदवारहरूको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

मेयरका लागि सात जना र उपमेयरका लागि ११ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको नगर सभापति दीपक चापागाईँले बताए ।

मेयरका लागि क्रमशः जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा. डिला संग्रौला, बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्रीय कार्यालयमा बुझाएको महानगर समितिले जनाएको छ ।

यस्तै उपमेयरका लागि ११ जनाको नाम सिफारिस गरिएको चापागाइँले बताए ।

उनका अनुसार उपमेयरमा नीरज कोइराला, झुमा गौतम, प्रमीला गच्छदार, प्रमीला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

केन्द्रले नै महानगरको भागबण्डाको टुंगो लगाउने बताइरहेका बेला महानगर समितिले भने मेयर र उपमेयर उम्मेदवारका लागि नाम सिफारिस गरेको हो । महानगर समितिले यसअघि नै विराटनगरमा गठबन्धन नगर्ने निर्णय गरेको थियो ।

०००

भरतपुर महानगरपालिका वडा नम्बर १७ का कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।

शनिवार भरतपुरको बेलुवा टोलमा भेला आयोजना गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहितका कांग्रेसका क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

भरतपुर महानगरपालिका फेरि पनि माओवादी केन्द्रलाई जिम्मा लगाउन लागेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन गर्ने र यसअघि स्थानीय तहमा जुन पार्टीले जितेको छ सोही पार्टीको उम्मेदवार हुने केन्द्रीय तहमा सहमति भएपछि भरतपुर कांग्रेस असन्तुष्ट छ ।

भरतपुरमा पाँच दलीय गठबन्धन गरेर माओवादी नेतृ एवं वर्तमान मेयर रेनु दाहाललाई उम्मेदवार बनाएर कांग्रेस कार्यकर्ताले स्वतन्त्ररूपमा उम्मेदवार घोषणा गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

०००

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन संघको निर्वाचनसम्म कायम रहने बताएका छन् ।

नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले स्थानीय निर्वाचनमा मात्रै होइन संघको निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका हुन् ।

‘गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा होइन, सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर स्थानीय तहदेखि संघको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ,’ उनले भने ।

साथै उनले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको आरोप लगाएका छन् ।

०००

नेकपा(एमाले)का अध्यक्ष केपी शर्माले मधेशको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

सर्लाही सदरमुकाम मलंगवास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, 'मधेशको मुद्दा सम्बोधन गर्न एमाले तयार छ ।'

नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ । उनले आगामी दिनमा आफ्नो पार्टीले मधेशी जनताका समस्या सम्बोधन गर्ने वाचासमेत गरे ।

०००

पर्सामा कांग्रेस र जसपाले स्थानीय निर्वाचनमा तालमेल नगर्ने भएका छन् ।

नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री र जसपा पर्सा अध्यक्ष रामनरेशप्रसाद यादवबीच शनिवार १४ वटै स्थानीय तहमा छुट्टाछुट्टै​ मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको हो ।

पर्सामा वीरगञ्ज महानगरपालिकासहित १४ वटा स्थानीय तह छन् । यी दुवै दल सत्ता गठबन्धनमा आबद्ध दल हुन् ।

०००

स्थानीय तहको निर्वाचनमा पाँच दलीय तालमेल गर्दा स्थानीय मतभार र राजनीतिक अवस्था हेरेर तल्लो तहका समितिलाई नै निर्णय गर्न दिनेबारे कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा छलफल भएको छ ।

शनिबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा चुनावी तालमेलका क्रममा उपमहानगरपालिका र महानगरपालिकामा सिट बाँडफाँटबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

बैठकमा स्थानीय तहमा तालमेल गर्दा स्थानीय समितिले गरेको निर्णयलाई मान्यता दिने र केन्द्रबाट दबाब नदिनेबारे छलफल भएको नेता गोपालमान श्रेष्ठले बताए ।

‘चुनावमा पाँच दलीय गठबन्धनसँग तालमेल गरेर जानुपर्छ भन्नेमा सबैको समान धारणा थियो । तर, स्थानीय आवश्यकताको आधारमा त्यहीँको समितिले गरेको निर्णयलाई मान्नुपर्छ भन्ने कुरा उठेको छ,’ श्रेष्ठले भने, ‘अघिल्लो चुनावमा पनि कांग्रेसभित्रकै नेताहरुका कारण कतिपय ठाउँमा तालमेल नगर्दा बिग्रिएको थियो । अहिले त्यस्तो गल्ती दोहोर्‍याउन हुँदैन भन्ने कुरा भएको छ ।’

०००

नेकपा माओवादी केन्द्रले एक जना पूर्वमन्त्रीको नाम मेयरमा सिफारिस गरेको छ ।  तनहुँको शुक्लागण्डकीको मेयरमा पूर्वमन्त्री आशा कोइरालाको नाम सिफारिस भएको हो ।

शनिबार बसेको नगर कमिटी बैठकले हाल गण्डकी प्रदेशसभा सदस्य रहेकी कोइरालालाई मेयर बनाउने निर्णय गरेको हो। कोइरालाले पार्टी पंक्तिको आग्रहअनुसार आफू मेयरमा उठ्न तयार रहेको बताइन् ।

पूर्वमन्त्री कोइराला गत चुनावमा भने काँग्रेस नेता प्रदीप पौडेललाई पराजित गर्दै प्रदेशसभामा विजयी भएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्