
चार दलीय गठबन्धनको मधेश प्रदेशमा बस्ने भनिएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।
स्थानीय तहको निर्वाचनका लागि आज बिहान ८ बजे जनकपुरमा बैठक डाकिएको थियो । तर, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले तयारी नपुगेको भनेकाले आज बिहान ८ बजे बोलाइएको बैठक ४ बजेको लागि सारिएको छ ।
नेकपा एकीकृत समाजवादीका मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवले कांग्रेस र जसपाले तयारी नपुगेको भनेकाले बैठक ४ बजेका लागि सारिएको बताए ।
'गठबन्धनको केन्द्रीय नीतिअनुसार तालमेल गरेर जाने नै कुरा छ,' उनले लोकान्तरसँग भने, 'तर कांग्रेस गठबन्धनमा बस्न चाहेन भने बाँकी तीन दलबीच पनि तालमेल हुन सक्छ ।'
कांग्रेसका केही नेताहरू गठबन्धनको विपक्षमा छन् भने केही नेताहरू पक्षमा पनि रहेको उनले बताए । ४ दलबीच गठबन्धन नभए जसपा, माओवादी र नेकपा एसबीच तालमेल हुने उनले बताए ।