काठमाडौँ, २८ असार- दाङका व्यापारी ५३ वर्षीय राजकुमार श्रेष्ठको हत्याअघि अपहरणका लागि बाबुले छोरीलाई प्रयोग गरेको खुलेको छ । ती बाबुले आफ्नी छोरीलाई नियोजितरुपमा व्यापारी श्रेष्ठसँग निकट सम्बन्ध बनाउन लगाउँदै अपहरण गरेको र अपहरणपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

व्यापारी श्रेष्ठको अपहरण र हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले घटनाको एक महिनापछि बाबु छोरीलाई नै पक्राउ गरी यो तथ्य सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा टीकाबहादुर घर्तीमगर र उनकी १८ वर्षीया छोरी पूजा घर्तीमगर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लाबाट पक्राउ गरिएको हो । यद्यपी प्रहरीले ती बाबुछोरीलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको दावी गरेको छ ।
अपहरणका योजनाकार खुमबहादुर केसीलाई भने प्रहरीले गाेंगबुस्थित उनकै कोठाबाट पक्राउ गरेको हो ।
राष्ट्रियस्तरमै चर्चा पाएको यो घटनाको अनुसन्धान गरी अपहरण र हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीमाथि चर्काे दबाब परेको थियो । प्रहरीले पनि यो घटनालाई प्रहरी संगठनकै प्रतिष्ठासँग जोडेर अनुसन्धान थालेको थियो । प्रहरीले यो घटनालाई लिएर फरार अभियुक्तबारे सूचना दिनको नाम गोप्य राख्ने र यसरी सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो, आजको राजधानी दैनिकमा खबर छ ।
यसरी बन्यो व्यापारी श्रेष्ठको अपहरण योजनाखासमा व्यापारी श्रेष्ठको अपहरणको योजना टीकाबहादुर घर्तीमगरले बनाएका थिए । चर्काे ऋणमा डुबेपछि उनले तीन महिनाअघि श्रेष्ठको अपहरण गरी ठूलै रकम फिरौती लिने योजना बनाएका थिए । यो कार्यमा उनले आफ्नै छोरी पूजा, तुलसीपुर–८ का २८ वर्षीय भुपेन्द्र भण्डारी, तुलसीपुर–११ कटाहाका ३० वर्षीय खुमबहादुर केसी सल्यान झिम्पे–४ का ३५ वर्षीय मानबहादुर भण्डारीलगायत १४ जनालाई सहमत गराए । त्यसपछि बन्यो, अपहरण योजना । खुमबहादुर र भुपेन्द्र तिनै व्यक्ति हुन् जो यसअघि व्यापारी श्रेष्ठको ३० लाख रुपैयाँ लुटिएको अभियोगमा पक्राउ परेका थिए । जिल्ला अदालत घोराहीबाट केही महिनाअघि मात्र तारेखमा रिहा भएका उनीहरुलाई टीकाबहादुरले अपहरणका लागि मनाएका थिए ।
छोरी पूजालाई व्यापारी श्रेष्ठलाई प्रभावमा पार्ने जिम्मा दिइयो । त्यसपछि पूजाले झण्डै डेढ महिनादेखि लगातार श्रेष्ठलाई टेलिफोन गरी उनको मन जित्न थालिन् । व्यापारी श्रेष्ठ पूजासँग यतिसम्म नजिक भए कि उनले बोलाएको ठाउँसम्म जान पनि राजी भए ।
सोही क्रममा पूजाले २६ जेठमा पनि फोनगरी उनलाई सल्यान घुम्न जाउँ भनी प्रस्ताव गरिन् । पूजाको प्रस्तावमा श्रेष्ठ सहमत भए । त्यस दिन पूजा र व्यापारी श्रेष्ठबीच २० पटकभन्दा बढी फोनमा सम्पर्क भएको थियो । पूजाको प्रस्ताव अनुसार व्यापारी श्रेष्ठ घर पुगेर बा११च १०७१ नम्बरको कार लिएर निस्किए । पूजा भने दाङको वीरेन्द्र चोकमा कुरिरहेकी थिइन् । त्यसपछि पूजालाई गाडीमा राखेर उनी लागे सल्यानतर्फ । तर, बीच बाटैमा उनी अपहरणमा परे । करिव एक घन्टा ड्राइभ गरेर कपुरकोट भन्ने ठाउँमा पुगेपछि उनी अपहरणमा परेका थिए ।