
मधेशकेन्द्रित राष्ट्रिय दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा नेकपा एमालेलाई सघाउने सहमति गरेको छ ।
आफूले उपमेयर लिने गरी लोसपाले वीरगञ्जमा एमालेलाई सघाएको हो । नेकपा एमालेका पर्सा अध्यक्ष जयप्रकाश थारु र लोसपाका पर्सा अध्यक्ष पुरुषोत्तमलाल झाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । वडाको हकमा पनि आपसी समझदारीमा उम्मेदवार तय गरिने सम्झौता पत्रमा उल्लेख छ ।
उता सत्तापक्षको गठबन्धनमा उक्त महानगरको प्रमुख जनता समाजवादी पार्टीले पाएको छ भने उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको छ ।
लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल पर्सा जिल्लाको वीरगञ्ज महानगरका लागि मात्र अहिले एमालेसँग सम्झौता भएको बताउँछन् ।
स्थानीय स्तरमा आवश्यकताका आधारमा तालमेल गर्ने नीतिअनुसार नै उक्त महानगरमा तालमेल भएको उनले बताए ।
'स्थानीय तहको निर्वाचन भएको हुनाले स्थानीय स्तरमा आवश्यकताको आधारमा जुनसुकै पार्टीसँग पनि तालमेल गर्ने हाम्रो रणनीति छ,' सोनलले लोकान्तरसँग भने,' धेरैजसो पालिकामा सत्ता गठबन्धनको तालमेल भएको हुनाले आवश्यकताको आधारमा अन्य पालिकामा पनि एमालेसँग तालमेल हुनसक्ने सम्भावना बढेको छ।'
जुन ठाउँमा एमाले र लोसपा दुवैले प्रमुख पदमा दाबी गर्छन्, त्यहाँ भने प्रतिस्पर्धा हुने उनले बताए । त्यसो त वीरगञ्जमा एमालेलाई सघाउने निर्णयविरुद्ध लोसपामा असन्तुष्टिका स्वर सुनिएका छन् ।
लोसपाका महानगर अध्यक्ष ओमप्रकाश सर्राफले पार्टीमा वृहत् छलफल नै नगरी एकलौटी ढंगले सम्झौता गरिएको भन्दै सन्तुष्टि जनाएका छन् ।
'हामीले आफैं मेयर, उपमेयरसहित सबै वडाध्यक्षमा लड्ने तयारी गरेका थियौं,' सर्राफले लोकान्तरसँग भने, 'तर जिल्ला सभापतिले महानगर समितिसँग कुनै सल्लाह नगरी एमालेको शरणमा जाने सम्झौता गर्दा सबै नेता / कार्यकर्ता असन्तुष्ट भएका छन् ।' एमालेसँग गरिएको गठबन्धनका कारण लोसपालाई ठूलो क्षति पुग्ने उनले बताए ।
तालमेल गराउन वीरगञ्ज नै पुगेका एमालेका सचिव तथा प्रभावशाली नेता रघुवीर महासेठ पनि स्थानीय स्तरको आवश्यकताका आधारमा लोसपासँग तालमेल गरिएको बताउँछन् । 'स्थानीय स्तरमा जनप्रतिनिधिले आफ्नो अनुकूल आवश्यकता महशुस गरेर जुनसुकै दलसँग पनि तालमेल गर्न सक्ने हाम्रो पार्टीको केन्द्रीय निर्देशनअनुसार नै वीरगञ्जमा लोसपासँग तालमेल गरिएको हो,' महासेठले लोकान्तरसँग भने ।
मधेश प्रदेशकै जनकपुरधाम उपमहानगरपालिकामा भने एमाले र लोसपाबीच तालमेलको सम्भावना क्षीण बन्दै गएको छ । प्रमुख पदका लागि दुवै पार्टीले आफ्नो दावेदारी पेश गरिरहेको हुनाले तालमेल तत्काल सम्भव नदेखिएको महासेठले स्वीकारे ।
'हुन त राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन, तर जनकपुर उपमहानगरमा लोसपासँग तालमेल हुने सम्भावना छैन,' उनले थपे, 'त्यहाँ एमाले र लोसपाले छुट्टाछुट्टै उम्मेदवारी दिन्छन् ।'
अन्य पालिकामा भने लोसपासँग तालमेल हुनसक्ने उनले बताए । त्यसका लागि केन्द्रबाट कुनै पनि दबाब नरहेको र स्थानीय स्तरमा उम्मेदवारहरू आफ्नो जनाधार र अवस्थाको आधारमा प्रमुख, उपप्रमुखसहित वडाहरूमा पनि तालमेल गर्न स्वतन्त्र रहेको उनले खुलाए ।
मधेश प्रदेशमा १३६ वटा स्थानीय तह छन्। लोसपामा अहिलेसम्म कुल ११७ वटा पालिकाका लागि उम्मेदवारको सिफारिश प्रदेश कमिटीमा आएकोमा ७७ स्थानमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि एक-एक जनाको नाम सिफारिश आएको सोनलले बताए ।
'७७ वटा पालिकामा स्थानीय स्तरबाट सर्वसम्मत एकल सिफारिश आएको छ,' सोनलले भने, 'त्यस आधारमा यदि तालमेल हुनसक्यो भने त्यसका लागि उम्मेदवारले नै एमाले वा अन्य दलसँग पनि तालमेल गर्न पाउँछ।'
एमाले र लोसपाको रणनीति : सत्ता गठबन्धनको असन्तुष्ट मतदाता तान्ने
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच गठबन्धन हुँदा भित्रभित्रै सबै पार्टीहरूमा असन्तुष्टि बढेको छ ।
चारवटै पार्टीबाट उम्मेदवार हुने आकांक्षा बोकेका कतिपयले टिकट नपाउँदा भित्रभित्रै चरम असन्तोष छ । खास गरेर वीरगञ्ज महानगर र जनकपुर उपमहानगरमा मेयर पद नेपाली कांग्रेसले नपाउँदा कांग्रेसभित्र चरम असन्तुष्टि छ ।
त्यसैगरी अन्य स्थानीय तहमा अन्य पार्टीका नेता तथा कार्यकर्ताहरूमा पनि चरम असन्तोष बढेको छ । ती पार्टीका नेता तथा कार्यकर्ताहरूले गठबन्धनको साझा उम्मेदवारलाई नै मतदान गर्छन् भन्ने पक्का छैन ।
बाहिरबाट खुलेर कसैले विद्रोह नगरे पनि भित्रभित्रै अन्तर्घात हुने सम्भावनालाई नियाल्दै एमाले र जसपा असन्तुष्ट मत तान्ने रणनीतिमा छन् ।
'लोसपाले जितेको कतिपय पालिकामा लोसपा अझै पनि बलियो अवस्थामा नै छ, त्यहाँ त्यति चिन्ता छैन,' लोसपाका एक केन्द्रीय सदस्यले भने,'जहाँजहाँ प्रतिस्पर्धा छ, त्यहाँ त्यहाँ गठबन्धनको असन्तुष्ट मत तान्ने हाम्रो प्रयास हुन्छ ।'
गत स्थानीय तहको निर्वाचनमा साविकको राजपाले कुल २५ पालिकामा प्रमुख तथा अध्यक्ष पद जितेको थियो। त्यसमध्ये महोत्तरीको पिपरा गाउँपालिकामा साविकको राजपाले जितेका अध्यक्ष विनोदकुमार चौधरीको निधनपछि भएको उपनिर्वाचनमा राजपाले उक्त पद हारेको थियो । उपनिर्वाचनमा त्यहाँ तत्कालीन नेकपाबाट विक्रम चौधरीले जीत हात पारेका थिए।
जसपा विभाजन हुँदा राजपाबाट जितेका ७ जना प्रमुख/अध्यक्षले जसपा रोजेका थिए। परिणामस्वरूप लोसपा अहिले १७ पालिकामा खुम्चिएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, सप्तरीको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख कौशल किशोर यादवसहित ७ जना प्रमुख/अध्यक्ष जसपामा छन् ।
त्यसैगरी गत स्थानीय निर्वाचनमा साविकको राजपाले २६ वटा पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको थियो। जसमध्ये ६ जना उपप्रमुख/उपाध्यक्षले जसपा रोजेका छन् ।