
गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन कुनै पनि कसुर बाँकी नराखी लाग्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बिहीवार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनेतर्फ काम गर्न निर्देशन दिएका हुन् ।
समितिका अध्यक्ष समेत रहेका गृहमन्त्री खाँणले ‘निर्वाचन तयारीका सन्दर्भमा तपाईहरूले पेस गरेका योजना उपयुक्त छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित रूपमा सम्पन्न गर्न थप प्रतिबद्ध भएर लाग्नुपर्छ । त्यो हाम्रो जिम्मेबारी हो,’ गृहमन्त्री खाँणले भने, ‘अझ सशक्त रूपमा कार्ययोजना बनाएर तपाईंहरू निर्वाचन सम्पन्न गर्न लाग्नुहोला । हामीले गर्नुपर्ने व्यवस्थापन गर्नेछौँ ।’
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बैठकमा ३० वैशाखमा हुने तय भएको स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउन अपनाउने रणनीतिबारे छलफल भएको जानकारी दिए ।
निर्वाचनमा आउन सक्ने चुनौति के के हुन् र ती चुनौति चिर्दै निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा पनि मन्त्री र सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा गृहमन्त्री खाण, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, गृहप्रवक्ता पोखरेलसहित सुरक्षा निकायका अन्य अधिकृतहरू र गृहमन्त्रालयका सम्बन्ध पदाधिकारीको सहभागिता थियो ।