
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने व्यवस्था भएपछि विराटनगर महानगरपालिकाका ६३ जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
आसन्न निर्वाचनमा पुनः उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिँदा ५ वडा जनप्रतिनिधिविहीन भएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतका विराटनगरका ४, ५, १७, १८ र १९ नम्बर वडा जनप्रतिनिधिविहीन भएका छन् । ५ वटै वडाका अध्यक्ष र सदस्यसहित सबैले राजीनामा दिएपछि ती वडाहरू जनप्रतिनिधिविहीन भएका छन् ।
आगामी स्थानीय तह निर्वाचनबाट चुनिएर आएपछि मात्रै यी वडाले नयाँ जनप्रतिनिधि पाउने भएका छन् ।
जनप्रतिनिधिविहीन भएपछि जिम्मेवारी वडा सचिवलाई दिने महानगरपालिकाको प्रशासन शाखाले जनाएको छ । शुक्रवारसम्ममा ६३ जनाले राजीनामा दिएका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । विराटनगरका १३ वडाध्यक्ष र सदस्यले राजीनामा दिएका छन् ।
राजीनामा दिने वडाध्यक्षमा विराटनगर–४ का देवेन्द्र पोखरेल, ५ का मीनकुमार आचार्य, ७ का मधुबाबु तिवारी, ९ का विश्वनाथप्रसाद भगत, १० का माधवराज वाग्ले, ११ का तिर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का झरिलाल महतो, १४ का बलदेव यादव, १५ का अस्लम आलम, १७ का समीर कमर, १८ का (कार्यबाहक अध्यक्ष) राजदेव यादव र १९ का बद्रीनारायण सरदारले राजीनामा दिएका अधिकृत बस्नेतले बताए ।
महानगरपालिकामा बेरुजु देखिएको र फर्स्यौट नभएका कारण विराटनगर–५ का वडाध्यक्ष आचार्यको राजीनामा बिहीवार स्वीकृत भएको थिएन । बेरुजु फर्स्यौट गरेपछि शुक्रवार उनको राजीनामा स्वीकृत भएको छ । जनप्रतिनिधिले लिएको पेस्की फरफारक नहुँदा तथा कानून विपरीत खर्च गरेको पाइएमा बेरुजु देखिने गरेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको बेरुजु फर्स्यौट नगरी उम्मेदवार हुँदा उजुरी पर्यो भने उम्मेदवारी रद्द हुने व्यवस्था छ ।