०६ साउन २०८३, बुधबार

टिकट नपाउने भएपछि एमाले प्रदेश सदस्यले छाडे पार्टी

बैशाख १०, २०७९
टिकट नपाउने भएपछि एमाले प्रदेश सदस्यले छाडे पार्टी

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले चुनावको मुखैमा पार्टी परित्याग गरेका छन् । यादवले शनिवार रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलन गर्दै आफू अब एमालेमा नरहेको घोषणा गरेका हुन् । 

एमालेको सिद्धान्त, विचार मन परेर २०५४ सालदेखि पार्टीमा लागेको बताउँदै उनले केही नेताहरूको कारण आफूले पार्टी छाड्न बाध्य भएको बताए । 

उनले भने, ‘म पार्टीको नीति, सिद्धान्त मन परेर एमालेमा आबद्ध भएँ, कुनै नेता मन परेर वा कुनै लाभ लिन्छु भनेर आएको होइन । पार्टी विधि, विचार र सिद्धान्तअनुसार चलेन त्यही भएर बस्न मन लागेन ।’ 

आफूलाई रूपन्देही क्षेत्र नम्बर ४ (मर्चवार क्षेत्र) को इन्चार्ज बनाइए पनि नेतृत्वले मर्चवारको विषयमा आफूसँग कुनै छलफल नगरेको उनले गुनासो गरे । उनले भने, ‘पार्टीको काममा निरन्तर लागिपरेको थिएँ, तर म विरुद्ध नै भ्रामक प्रचार गरियो ।’

उनी आगामी स्थानीय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिका अध्यक्षका आकांक्षी थिए । 

गाउँपालिकाका कार्यक्रममा छलफल नगरिकन एकलौटी ढंगले अगाडि बढेको उनले दुखेसो पोखे । 

उनले भने, ‘गाउँपालिकाको नेतृत्वमा रहेर जनताको काम गर्न सक्छु भन्ने सोच हो, मेरो इच्छा सांसद बन्ने होइन, तर आकांक्षी हुँदाहुँदै छलफलसमेत गराइएन,’ उनले भने । 

अब आफू स्वतन्त्र बस्ने उनको भनाइ छ । चुनावको मुखमा पार्टीहरूमा असन्तुष्टि बढेपछि पार्टी छाड्ने क्रम बढदै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्