युक्रेनमाथि रुसले आक्रमण गरेपछि युक्रेनलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय सैन्य टोलीमा रहेका लिथुएनियाली नागरिक पोभिलास लिमोनतास घर फर्केका छन् ।
मार्च महिनामा युक्रन पुगेका उनी एक महिना युद्ध देखेर आजित भई अप्रिल ७ मा घर फर्केका हुन् ।
उनले घर फर्किएको कारण बताएनन् तर टाइम पत्रिकासँगको अन्तर्वार्तामा उनले रुसबाट लगातार प्रहार भइरहेको गोली अनि राम्रोसँग सुत्न नपाएकाले गाह्रो परेको बताए ।
युद्धको तयारीस्वरूप लिमोन्तासले एके–४७ राइफल लिएर तयारी गरेका थिए । त्यसपछि उनी युद्धभूमिमा खटिए ।
एउटा लडाइँको वर्णन उनले यसरी गरे ः
हामी थप सैनिकका रूपमा आएका थियौं र अलिअलि गोली हान्यौं । तर केही समयपछि हामी भाग्नुपर्यो किनकि लिथुएनियामै मैले थाहा पाइसकेको थिएँ कि रुसहरूलाई गोली हान्दा जम्मा १० मिनेटमा उनीहरू आर्टिलरीबाट प्रहार गर्न थालिहाल्छन् । लडाइँ पाँचदेखि १० मिनेट चल्यो होला तर मलाई त्यसले धेरै दिनसम्म तर्सायो । रुससँग नसकिने रहेछ ।
लिथुएनिया फर्केपछि लिमोन्तास मिडियामा बाक्लै गरी देखिन थालेका छन् । उनी सेनालाई दान दिन मानिसहरूलाई आह्वान गर्ने गर्छन् ।