०८ साउन २०८३, शुक्रबार

विराटनगरको मेयरमा ३ र वडाध्यक्षमा १८ सहित ५६ जनाले गरे उम्मेदवारी दर्ता

बैशाख ११, २०७९
विराटनगरको मेयरमा ३ र वडाध्यक्षमा १८ सहित ५६ जनाले गरे उम्मेदवारी दर्ता

विराटनगर महानगरपालिकाको नगर प्रमुखमा तीन जनासहित ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई जनाले स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराएका छन् । एक जनाले सिके राउत नेतृत्वको जनमत पार्टीबाट मनोनयन दर्ता गराएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीका अनुसार मेयरमा जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले मनोनयन दर्ता गराएका छन् । 

जनता समाजवादी पार्टी परित्याग गरेका नेता उमेश यादव र सक्रिय गौतमले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

यादवले शनिवार मात्रै पार्टी परित्याग गरेका थिए । गत चुनावमा उनले तेस्रो धेरै मत ल्याएका थिए । 

५६ जनामध्ये १८ जनाले वडाध्यक्ष र ३५ जनाले वडा सदस्यमा मनोनयन दर्ता गराएको सूचना अधिकारी बुढाथोकीले बताए । 

सदभावना पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत, पिछडा वर्ग निसाफ जनजाति पार्टी, विवेकशील साझा पार्टीले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । ८ जनाले भने स्वतन्त्रबाट वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्