०२ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

मनोनयन दर्ताको पहिलो दिन ठूला दल भागबण्डा मिलाउनै व्यस्त

बैशाख १२, २०७९
मनोनयन दर्ताको पहिलो दिन ठूला दल भागबण्डा मिलाउनै व्यस्त

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । अरु दिनझैँ पनि पनि हामी लोकान्तरको नियमित प्रस्तुती लिएर आजका छौँ । 
वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन अन्तरगत उम्मेदवारी दर्ताको पहिलो दिन आइतबार अधिकांश साना र स्वतन्त्र उम्मेदवारले मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलगायत आइतबार दिनभर भागबण्डा मिलाउन व्यस्त रहे । अझै पनि कतिपय स्थानीय तहहरुमा भागबण्डा नमिलेको बताइएको छ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दिएको समयसीमा सोमबार साँझ ५ बजे सकिँदैछ । ठूला दलहरुले आज भागबण्डा मिलाएर उम्मेदवारी दर्ता गराउनेछन् । 
००००
सत्तारुढ पाँच दलीय गठबन्धनले देशभरका स्थानीय तहमा तालमेल गर्न अधिकतम कोशिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको गठबन्धन बैठकले सोमबार मनोनयन अघिसम्म बाँडफाँड मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । गठबन्धनभित्र स्थानीय तहहरुमा भागबण्डा नमिलेको अवस्थामा यस्तो निर्णय भएको हो । 
यस्तै सोमबार  बिहान ८ बजे पाँचै दलका अध्यक्षहरू बसेर बाँकी विषय मिलाउने सहमति पनि भएको छ । यस्तै विगत समझदारीलाई सबै पक्षले इमान्दारिताका साथ पालना  गर्ने सहमति पनि भएको छ । यसैबीच पाँच दल बाहिर तालमेल नगर्ने यसअघिको निर्णयलाई गठबन्धनले दोहोर्याएको छ ।
००००
स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयनको पहिलो दिन आइतबार काठमाडौँ महानगरपालिकाका लागि १६ जनाले मेयर पदका लागि मनोनयन दर्ता गरेका छन् ।  राष्ट्रिय सभा गृहमा स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा ४ जना महिला र १२ जना पुरुषले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यालयका शाखा अधिकृत प्रेमकुृमार श्रेष्ठकाअनुसार पार्टीको प्रतिनिधित्व गर्दै ७ जनाले र स्वतन्त्र रुपमा ९ जनाले मनोनयन दर्ता गराएका हुन् ।  यसरी मनोनयन दर्ता गराउने पार्टीहरूमा विवेकशील साझा पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल समावेशी पार्टी, मौलिक जरोकिलो पार्टी, सचेत नेपाल पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी रहेका छन् ।  
यससँगै उपमेयर पदमा १७ जनाले मनोनयन दर्ता गराएका छन् । यसैगरी वडाध्यक्षमा २३ जना र वडा सदस्यमा ७ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
००००
टिकटको विषयमा विवाद हुँदा काभ्रेको नमोबुद्ध नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । सो क्रममा एक समूहले नगरपालिकाका मेयरका दावेदार रोशन पाण्डेमाथि कुटपिट भएको छ । बनेपामा पाण्डेलाई काँग्रेस काभ्रेका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामा समूहले कुटपिट गरेको आरोप लागेको छ । कुटपिटबाट पाण्डेको शरीरको विभिन्न भागमा चोट लागेको छ ।
००००
कैलालीको कैलारी गाउँपालिका–७ बिपतपुर मुक्तकमैया शिविरमा लागेको आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको छ । आइतवार दिउँसो साढे १ बजेदेखि शुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । तर, अझै घरका खामामा लागेको आगो ननिभेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरका तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पदाधिकारीसहित ६४ जना विरुद्ध आइतवार भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
अख्तियारले आइतवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो । नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेर भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
००००
सम्मानजनक रुपमा टिकट वितरण नभएको भन्दै सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएको छ । बुटवलस्थित निर्वाचन कार्यालयमा मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गरेका हुन् ।
००००
ललितपुर महानगरपालिकाको मेयरमा ८ जना र उपमेयरमा ३ जनाको उम्मेदवारी परेको छ । ललितपुर महानरपालिकाका प्रमुख निर्वाचन अधिकृत विष्णु पाण्डेका अनुसार मेयरमा राष्ट्रिय जनमुक्ति पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, मजदुर किसान पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील पार्टी, नेकपा माले र स्वतन्त्रले उम्मेदवारी दिएका हुन् ।
००००
विराटनगर महानगरपालिकाको नगर प्रमुखमा तीन जनासहित ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई जनाले स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराएका छन् । एक जनाले सिके राउत नेतृत्वको जनमत पार्टीबाट मनोनयन दर्ता गराएका हुन् ।
००००
नेपाली कांग्रेसले टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतवार बसेको बैठकले कांग्रेसका पदाधिकारी र नेता रामचन्द्र पौडेल सदस्य रहने गरी संसदीय बोर्ड गठन गरेको हो ।
००००
पछिल्लो २४ घण्टामा १३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २५५ नमूना परीक्षणमध्ये १३ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५१ छ । मन्त्रालयका अनुसार थप २५ जना संक्रमणमुक्त भएका छन्  । हाल मुलुकभर २६९ सक्रिय संक्रमित छन् ।
००००
स्थानीय निकायको चुनावका लागि उम्मेदवारी दर्तासँगै शेयर बजार पनि तातेको छ । आज नेप्से परिसूचक नेप्से एकै दिन ९५.४६ अंकले बढेको छ । शेयर बजार आज ४.११ प्रतिशतले बढ्दा नेप्से परिसूचक २४२०.९१ विन्दूमा पुगेको छ ।
००००
जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । ‘पहिचान, संघीयता, सुशासन र सदाचार, स्थानीय सरकार समृद्धिको मूल आधार’ भन्ने मुख्य नारासहित जसपाले घोषणापत्र सार्वजनिक गरेको हो ।
००००
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार दिउँसो विशेष कार्यक्रमबीच पार्टीको संकल्प पत्र सार्वजनिक गरिएको हो ।
००००
पोखरा महानगरपालिकामा मेयर पदमा बागी उम्मेदवारी परेको छ । गठबन्धनको भागबण्डामा पोखरा महानगर नेकपा एकीकृत समाजवादीको भागमा परेपछि कांग्रेसका क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
००००
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी सांगीतिक क्षेत्रमा व्यक्ति हुन् ।
००००
बागमती प्रदेश सभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।
००००
विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ ।  मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्