१९ असार २०८३, शुक्रबार

विपद् जोखिम न्युनीकरणका लागि पूर्व तयारी गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

बैशाख १२, २०७९
विपद् जोखिम न्युनीकरणका लागि पूर्व तयारी गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारी एवं विपद्का समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रपति भण्डारीले सातौं भूकम्प स्मृति दिवसका अवसरमा सोमवार जारी गरेको सन्देशमा विपद्का समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्‍याउन संघीय तथा प्रदेश सरकार र स्थानीय तहको अह्म भूमिका रहेकाले यस विषयमा सम्बद्ध सबैको ध्यान जानुपर्ने बताइन् ।

सन्देशमा सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्विक एवं ऐतिहासिक सम्पदा, सरकारी तथा सार्वजनिक भवन, शैक्षिक, स्वास्थ्य संस्थाका भवन, निजी आवास, सडक, पुल लगायतका भौतिक संरचनाको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको र बाँकी रहेका काम सम्पन्न गर्ने जिम्मेवारी समेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको उल्लेख छ । 

नेपाल विश्वका अति भूकम्पीय जोखिम भएका मुलुक मध्येमा पर्दछ र भूकम्पीय जोखिममा पर्नुका मुख्य कारण भौगोलिक अवस्थिति र बनावट रहेको भए पनि मानवनिर्मित कमजोर भौतिक संरचना पनि त्यतिकै जिम्मेवार रहेको बताउँदै सन्देशमा विगतको भोगाइ र अनुभवबाट पाठ सिक्दै आउँदा दिनमा भूकम्पजस्ता प्राकृतिक विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न भूकम्पलाई थेग्नसक्ने भौतिक संरचना निर्माण गरिनु अत्यावश्यक रहेको उल्लेख छ ।

सुरक्षित जीवनका लागि भूकम्प स्मृति दिवसबाट आपसमा मिलेर काम गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलगायत भूकम्प पश्चात्को पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्ने मित्रराष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र स्वयंसेवक सबैलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

उनले गोरखाको बारपाक केन्द्रविन्दु भई २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्