२९ असार २०८३, सोमबार

पञ्चेबाजाले गुञ्जियो निर्वाचन अधिकृतको कार्यालय

बैशाख १२, २०७९
पञ्चेबाजाले गुञ्जियो निर्वाचन अधिकृतको कार्यालय

स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने पहिलो दिन आइतवार सुनसान प्रायः रहेको प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहको माहोल सोमवार एकाएक बदलियो ।

केही साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आइतवार नै उम्मेदवारी दर्ता गराएका भए पनि ठूला दलहरूले आज मध्याह्नपछि मात्र बजागाजा र दलबलसहित आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराए । 

स्थानीय शान्ति बाटिकाबाट पञ्चेबाजासहित शुरू भएको राजनीतिक दलहरुको दलबल नाराजुलुसका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान सभागृह पुगेको थियो । दलबलसहित आएका उम्मेदवार बाजागाजा सभागृहको प्रवेशद्वार बाहिरै छाडेर उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरे । 

सत्ता गठबन्धनका तर्फबाट कामपाको प्रमुखमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराइन् । उनको प्रस्तावकमा कामपाका उपप्रमुख हरिप्रभा खड्गी र समर्थकमा नीलकाजी शाक्य रहेका छन् । सिंह नेपाली कांग्रेसकी नेत्री हुन् ।

उपप्रमुखमा गठबन्धनकै साझा उम्मेदवार नेकपा एकीकृत समावजादीका नेता रामेश्वर श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराए । श्रेष्ठको प्रस्तावकमा प्रवेशमान बज्राचार्य र समर्थकमा भीमसेन खतिवडा ‘विष्णु’ छन् ।

त्यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेका तर्फबाट प्रमुखमा देवेन्द्र खड्गीको समर्थनमा केशव स्थापितले मनोनयन दर्ता गराएका थिए । उनीसँगै उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले पनि मनोनयन दर्ता गराए । डङ्गोलको प्रस्तावकमा अजयक्रान्ति शाक्य र समर्थकमा सञ्जित डंगोल छन् । स्थापित यसअघि विक्रम संवत् २०५४ सालको स्थानीय निर्वाचनमा प्रमुखमा विजयी भइसकेका थिए । बागमती प्रदेशसभा सदस्यका रूपमा रहँदारहँदै उनले कामपाको प्रमुखमा उम्मेदवारी दिन प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।

राप्रपाका तर्फबाट कामपाको प्रमुखमा कलाकार मदनदास श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन कार्यालयमा अहिले साँझसम्म कामपाको प्रमुखमा ४१ र उपप्रमुखमा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्