
कैलालीको कैलारी गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच भएको सहमति भाँडिएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादीबीच भएको सहमतिअनुसार माओवादीले अध्यक्ष र कांग्रेस उपाध्यक्ष पाउने भएको थियो । अघिल्लो निर्वाचनमा जितेका वडामा सोही दलका अध्यक्ष हुने सहमति भएको थियो ।
तर मनोनयन दर्ताको अन्तिम समयमा सहमति भाँडिएको हो । माओवादी र कांग्रेस छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा होमिने भएका छन् ।
नेकपा माओवादी केन्द्रका कैलारी गाउँपालिका इन्चार्ज सुरेन्द्र चौधरीले कांग्रेस छुट्टै तयारीमा गएपछि आफूहरू पनि आफ्नै तयारीमा लागेको बताए ।
नेपाली कांग्रेसका कैलाली सभापति नारायणदत्त भट्टले कैलारी गाउँपालिकामा अघिल्लो निर्वाचनमा माओवादी र कांग्रेस मात्रै मुख्य प्रतिस्पर्धी भएको अवस्थामा आफूहरू मित्रवत प्रतिस्पर्धामा गएको बताए ।
उनले भने, ‘गठबन्धनमा भएका दलबीचको समन्वय, एकता, समझदारी छँदैछ । छुट्टाछुट्टै प्रतिस्पर्धालाई सहमति भाँडिएको भन्न मिल्दैन । हामी मित्रवत प्रतिस्पर्धामा गयौं ।’
२ दलीय गठबन्धनको तर्फबाट कैलारी गाउँपालिकामा माओवादीले अध्यक्षको उम्मेदवारको रूपमा निवर्तमान गाउँपालिका अध्यक्ष लाजुराम चौधरीलाई सिफारिस गरेको छ भने नेपाली कांग्रेसले उपाध्यक्षको लागि भागवती चौधरीलाई सिफारिस गरेको छ ।
अघिल्लो निर्वाचनमा ९ वडा रहेको गाउँपालिकाको ५ वडामा माओवादी र ४ वडामा कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका थिए ।