काठमाडौँ, २९ असार- माओवादीले पार्टीका तर्फबाट मन्त्री हुनेको नामावली टुंग्याएको छ । कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदलले मन्त्रीहरूको नामावली टुंग्याएर पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएको छ , नयाँ पत्रिकामा खबर छ ।

कार्यदलले सिफारिस नामलाई अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । माओवादीले प्रदेश नं. १ बाट मोरङ–४ का निर्वाचित सांसद शिवकुमार मण्डललाई मन्त्री बनाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरेको छ । प्रदेश नं. २ बाट प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । सोही प्रदेशका गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्री बनाउन कार्यदलले सिफारिस गरेको छ ।
माओवादीले प्रदेश नं. ३ बाट रामेछाप–२ का सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासनमन्त्रीका लागि कार्यदलले सिफारिस गरेको छ । प्रदेश नं. ४ का हितराज पाण्डेलाई दोहोर्याउने कि तनहुँकी आशा खनाललाई मन्त्री बनाउने टुंगो नलागेको माओवादी स्रोतले बताएको छ । प्रदेश नं. ५ का कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र प्रदेश ६ का जनार्दन शर्मा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । माओवादी कार्यदलले प्रदेश नं. ६ बाट कालिकोटका सांसद महेन्द्रबहादुर शाहीलाई ऊर्जामन्त्रीका लागि सिफारिस गरेको छ ।