
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँ झै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित लोकान्तरको नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ ।
००००
नेपाली फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद छताछुल्ल भएको छ । पटक पटक विवादमा पर्दै आएका प्रशिक्षकविरुद्ध खेलाडीहरु संगठित रुपमै लागेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ समेतले सार्वजनिक रुपमा असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु गलत भएको बताएका छन् । ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन’, उनले भने, ‘ टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।’
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केही खेलाडी विवादकै कारण अनुपस्थित भएका थिए । यो विषय बाहिरिएपछि फुटबलभित्रको विवाद सतहमा आएको छ । प्रशिक्षकले यसअघि एन्फाका अधिकारीसँग समेत विवाद गरेका थिए ।
००००
सरकारले जेठ १ गते देखि लागू हुने गरेर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार कार्यालय समय पनि साढे ९ बजेदेखि साढे ५ सम्मको हुनेछ ।
सातामा एक दिन बिदा थपिँदा इन्धनमा हुने घाटामा कमी हुने सुझाव दिइएको थियो ।
००००
सत्ता गठबन्धनको बैठकले सबै बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ ।
बुधवार बिहान बालुवाटारमा बसेको बैठकले गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रकै दलको तर्फबाट दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेको हो ।
००००
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुुदर्शन’ र धर्मेन्द्र वास्तोला ‘कञ्चन’ लाइ पदमुक्त गरेको छ ।
बुधवार बिहान कपिलवस्तुको शिवगढीमा बसेको सचिवालय बैठकले उनीहरूलाई जिम्मेवारीबाट पदमुक्त गरेको हो ।
००००
अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा भएको छलफलमा उनले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताए ।
मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बीउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बीउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्कसहित बिहीबार पुनःछलफलमा आउन निर्देशन दिए।
००००
स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ । यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ ।
००००
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको बताएका छन् ।
बुधवार नेपाल राष्ट्रबैंकको ६७औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा केही दबाब रहेको बताए ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखमा अँगार भएकाले कालो ओकल्ने गरेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले कालो ओकल्ने गरेको टिप्पणी गरे ।
ओलीले मंगलवार एक कार्यक्रमबीच कांग्रेसको घोषणा पत्रको सन्दर्भलाई उल्लेख गर्दै महामन्त्री थापाले ओलीले मुख छाड्नु नौलो कुरा नभएको बताए । उनले मुखमा अँगार हुनेले कालै ओकल्ने बताए ।
००००
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मेयर पदबाट राजीनामा दिएका छन् । मेयर पराजुलीले बुधवार दिउँसो मेयर पदबाट राजीनामा दिएका हुन् ।
स्थानीय तहको निर्वाचन हुन गइरहेको र आफू पार्टीको केन्द्रीय सदस्य भएकाले आसन्न निर्वाचनमा पार्टीको प्रचारप्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकाले वर्तमान अवस्थामा बहाल गरिरहेको प्रमुखको पदमा रहिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकाले नेपालको संविधानको धारा २१६ को उपधार ८(क) बमोजिम वैशाख १४ गतेदेखि लागू हुने राजीनामा दिएको छु,’ उनको राजीनामा पत्रमा उल्लेख छ ।
००००
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म छपाइ भएका मतपत्र २२ जिल्लामा पठाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड भई वैशाख १३ र १४ गते ९ जिल्ला गरी २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको छ ।
००००
पछिल्लो २४ घण्टामा ११ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ८९१ नमूना परीक्षणमध्ये ११ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५१ छ । मन्त्रालयका अनुसार थप १७ जना संक्रमणमुक्त भएका छन् ।हाल मुलुकभर २५२ सक्रिय संक्रमित छन् ।
००००
शेयर बजारमा बुधवार सामान्य वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ५.१७ अंकले बढ्दै २३७६.१७ विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक १.६१ अंकले बढ्दै ४५४.५६ विन्दुमा पुगेको छ ।
००००
नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ । यसका लागि टेलिकमले मोन्टी युके ग्लोबलसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा गत आइतवार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच हस्ताक्षर भएको छ ।