०३ असार २०८३, बुधबार

आरन पेशा विस्थापित हुने अवस्थामा

बैशाख १५, २०७९
आरन पेशा विस्थापित हुने अवस्थामा
प्रतिकात्मक तस्वीर

तनहुँको ब्यास नगरपालिका–५ कन्टार निवासी भुमबहादुर विकले आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिँदै आएका छन् ।

आफू ८ वर्षको उमेर हुँदा बुवाले छाडेर गएपछि बुवाको पुख्र्यौली पेशालाई अँगाल्दै आएका हुन् ।

आरन व्यवसायबाट राम्रै कमाइ हुने गरे पनि पछिल्लो समय कोइला पाउन छाडेपछि पेशा विस्थापित हुने अवस्थामा पुगेको उनले बताए ।

सामुदायिक वनमा गएर काठ काटेर कोइला बनाउन नपाएपछि पेशा नै छाड्नुपर्ने समस्या आएको उनी बताउँछन् । सामुदायिक वनमा पस्न दिँदैनन् । उनले भने, ‘खाना पकाउन प्रयोग गरिएको दाउराबाट बनेको कोइलाले जेनतेन जीविकोपार्जजन गर्दै आएको छु ।’ 

वडाभरि उनी नै आरन व्यवसाय सञ्चालन गर्ने एक व्यक्ति हुन् । राम्रो कोइलाको लागि सालको काठ आवश्यक पर्ने उनी बताउँछन् । पछिल्लो समय बाली प्रथा छाडे पनि हसिया, कोदालो, बन्चरो लगायतका हतियार अर्जाबेको ३० देखि ८० रुपैयाँसम्म लिने गरेको उनले जानकारी दिए ।

‘वनमा काठ कुहिएर त्यत्तिकै खेर जान्छ तैपनि काट्न पाइँदैन,’ उनले थपे, ‘वर्ष दिनमा १ दिन वन खुल्छ, खाना पकाउनका लागि दाउरा काट्न पाइन्छ तर कोइलाका लागि पाइँदैन ।’

पुर्ख्यौली घर पर्यटकीयस्थलका रूपमा परिचित सोही वडाको मानुङकोटमा भए पनि बुवाको निधनपश्चात बेंसी बसाइँ झरेको उनी बताउँछन् । ‘आफूले जानेको पेशा यही हो, कोइलाको अभावमा पेशा नै विस्थापित हुँदा रोजीरोटी गुम्ने खतरा देखिएको छ,’ विकले भने । 

वर्षौंदेखि आरन पेशा अँगालेर स्थानीयलाई सेवा दिँदै आए पनि हालसम्म कहीँकतैबाट अनुदानका सुविधा पाउन नसकेको उनले दुःखेसो पोखे । वडाका पतेनी, साँघे, कन्टार, पाटन लगायतका मानिस आरनमा काम दिन आउने गरेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्