
काठमाडौं महानगरपालिकामा नगर प्रमुखको उम्मेदवार सिर्जना सिंहले ७ ‘स’को संकल्प प्रस्तुत गरेकी छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेकी सिंहले आफू नगर प्रमुख भएपछि गर्ने ७ संकल्पलाई बिहीवार सार्वजनिक गरेकी हुन् ।
उनले सेवा र सुशासनअन्तर्गत महानगरलाई विधिको शासन, नियम, कानूनभित्र रही सञ्चालन गर्ने, भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रूपमा कामपालाई अघि बढाउने, संघीय सरकार प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्ने संकल्प गरेकी छन् ।
स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाअन्तर्गत शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने, महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडामा रोकथाम, परीक्षण, उपचार र पुनः स्थापना सहितको ‘शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’को स्थापना र विशेषज्ञ सेवा सहितको महानगरीय अस्पताल सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने बताएकी छन् ।
सिंहले स्वच्छ, सफा, दीगो पर्यावरणअन्तर्गत कामपालाई ‘जेरो वेस्ट’ महानगर बनाउने, पिउन योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने, सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनःस्थापना तथा विस्तार गर्ने संकल्प गरेकी छन् ।
सुरक्षित शहरअन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने शहरको निर्माण, विपद् थेग्नसक्ने क्षमतायुक्त शहरको निर्माण गर्ने संकल्प राखेकी छन् ।
उनले संस्कृति, सम्पदा र सभ्यता बचाउनका लागि मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा संवद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने तथा गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दीगो विकासका लागि प्रतिबद्ध रही कार्य गर्ने बताएकी छन् ।
सिंहले सबल र समुन्नत पूर्वाधारअन्तर्गत सहजरूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित शहरका रूपमा महानगरलाई विकास गर्ने, महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने, महानगरको कार्यक्षेत्र भित्रपर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीयरूपमा समयमै सम्पन्न गर्ने तथा मर्मत–सम्भारका लागि अविलम्ब कार्य गर्न सक्ने गरी संस्थागत क्षमताको विकास गर्ने संकल्प गरेकी छन् ।
सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरबासी बनाउन उनले युवाका लागि अवसर, महिलाको सशक्तीकरण र सम्पूर्ण महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्न आवश्यक पहलकदमी लिनुका साथै उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने बताएकी छन् ।