२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री सहित ४ जनाविरुद्ध सर्वोच्चमा मुद्दा, चुनावको दिन सार्वजनिक बिदा दिन प्रस्ताव

बैशाख १६, २०७९
अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री सहित ४ जनाविरुद्ध सर्वोच्चमा मुद्दा, चुनावको दिन सार्वजनिक बिदा दिन प्रस्ताव

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँ झै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित लोकान्तरको नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ ।

०००

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई अपिल गरेका छन् । पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारीविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिनका लागि सभापति देउवाले अपिल गरेका हुन् । बिहीवार एक वक्तव्य जारी गर्दै सभापति देउवाले नयाँ संविधानको रक्षा तथा लोकतन्त्रको आधारभूत मूल्यमान्यताको संरक्षण गर्न कांग्रेससहित ५ दलले गठबन्धन गरेको उल्लेख गरेका छन् । 

०००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ दलीय गठबन्धनमा रहेका र उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्वबाट बिमुख नहुन आग्रह गरेका छन् ।

मध्यपुरथिमि नगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख तथा उपप्रमुख उम्मेदवारलाई स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक निर्देशन दिँदै उनले गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा इमान्दार भएर परिपालना गर्न आग्रह गरे ।

०००

प्रधानमन्त्री, सभामुख, कानून मन्त्री र प्रमुख निर्वाचन आयुक्तलाई अदालतको अपहेलनामा कारबाही गर्न भन्दै सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको छ।

'राइट टू रिजेक्ट' को कानून नै नबनाई स्थानीय तहको निर्वाचन गर्न आँटेको भन्दै अधिवक्ता भद्र प्रसाद नेपालले मुद्धा दर्ता गरेको छ। वैशाख २० गतेको लागि पेशी तोकिएको मुद्धा निवेदक नेपालले बताए।

०००
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन विरुद्धको रिट बिहीवार पनि हेर्दा हेर्दैमा परेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा बिहीवार पनि हेर्दाहेर्दैमा परेको हो।

०००

नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाकी मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंका खाल्डाखुल्डी हटाएर प्रदूषणमुक्त शहर बनाउने संकल्प गरेकी छन् ।

आसन्न स्थानीय तह चुनावका लागि बिहीवार संकल्पपत्र सार्वजनिक गर्दै सिंहले ट्राफिक व्यवस्थापन गर्ने बताइन् ।

०००

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बिहीवार विभागले पत्रकार सम्मेलन गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।  कोभिड १९ को असर कम भएको र अबको तीन महिनामा त्यस्तो ठूलो असर नआउने भन्दै विभागले चालु आर्थिक वर्षमा ५.८४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

०००

आगामी वैशाख ३० गते सार्वजनिक बिदा दिनका लागि निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ। आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिदा दिनका लागि आग्रह गरिएको जानकारी दिए। वैशाख २८ देखि ३० गते सम्म मतदान स्थल भएको विद्यालयहरूमा विद्यालय हस्तान्तरण गरेर वैकल्पिक माध्यमबाट सिकाइको काम जारी राख्न मुख्य सचिव मार्फत आग्रह गरेको उनले बताए। अहिले सम्म ७२ जिल्लाको लागि १ करोड ७७ लाख ७५ हजार  मतपत्र छापिसकिएको तथा ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको उनले बताए।

०००

रुपन्देहीको भैरहवास्थित मुलुकको दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीवार विमानस्थलमा सफल अवतरण गरेको छ । ७२ वर्षपछि राष्ट्रिय गौरवको आयोजना विमानस्थल सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर आएको विमान काठमाडौंबाट भैरहवामा ४५ मिनेटमै अवतरण गरेको थियो ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ठूलो विमानको अवतरण भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोदसिंह रावतले वायुसेवा निगमको वाइडबडी जहाजले सफल परीक्षण उडान गरेको बताए । उनका अनुसार वैशाख १ गते नै वाइडबडी जहाजले उडान गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदा केही ढिलाइ भएको छ ।

०००

नेपाल नागरिक उड्डयन प्राधिकरणको रात्रीकालिन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका छन् ।  

प्राधिकरणले शुक्रवारदेखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघले बिहीवार चेतावनी दिएको छ ।

०००

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर नै एक प्रकारको उत्साह छाएको भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज अन्तिम दिन भने २० अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेर दुई हजार ३५६.१७ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३२ अङ्कले ओरालो लागेर ४५०.२४ मा सीमित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्