
रुपन्देहीको तिलोत्तमामा सत्ता गठबन्धनले नगरमा विद्युतीय बस सञ्चालन गर्ने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो ।
तिलोत्तमामा ५ वर्षभित्र तिलोत्तमामा चक्रपथ निर्माण कार्य सम्पन्न गरिने उल्लेख छ । त्यस्तै नगरभित्र सम्पूर्ण बाटो जालीसहित कालोपत्रे बनाइने, भित्री सडकहरूमा सडकबत्ती व्यवस्थापन प्रभावकारी बनाउने भनिएको छ ।
नगरमा प्रमुखका उम्मेदवार रामकृष्ण खाण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरे ।
प्रतिबद्धतापत्रमा आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सीप विकास, सञ्चार प्रविधि, युवा खेलकुद, कृषिक्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग व्यापार तथा पर्यटन, रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ ।
हालको करको दायरा फराकिलो बनाइ यो भन्दा अगाडिको तिलोत्तमा नगर सरकारले लगाएको एकीकृत सम्पत्ति करमा ५० प्रतिशत घटाइने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिइने नगर प्रमुखका उम्मेदवार रामकृष्ण खाणले बताए ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका तिलोत्तमा नगर भित्रका नागरिकहरूले नगरभित्रका बैंकहरूमा डलर पठाएमा प्रति १ हजार डलरमा १ हजार थप गरी भुक्तानी दिने व्यवस्था मिलाइने जनाइएको छ ।
उम्मेदवार खाणले जनताबाट उठाएको करले शालिक, गेट, स्तम्भ भ्यूटावर बनाउने र उपहार शुभकामना भोजभतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइने बताए ।
कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्रामस्थल बनाइने उनको भनाइ छ । नगरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरिने जनाइएको छ ।