२८ जेठ २०८३, बिहीबार
स्थानीय चुनाव

काठमाडौंकै मतदाताको गुनासो- ४८ सालमा पनि सिटामोल पाइन्थेन, अहिले पनि उस्तै छ

काठमाडौंकै मतदाताको गुनासो- ४८ सालमा पनि सिटामोल पाइन्थेन, अहिले पनि उस्तै छ

काठमाडौंको बल्खु चोकबाट १३ किलोमिटर दक्षिणमा छ, दक्षिणकाली । धार्मिक तथा ऐतिहासिकरुपले मात्रै होइन प्राकृतिकरुपमा पनि सुन्दर छ, यो नगरपालिका । 

दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने फर्पिङ अझ आफैंमा चर्चित ठाउँ हो । नेपालकै पहिलो जलविद्युत् उत्पादन भएको क्षेत्र भएकाले पनि यो ठाउँको इतिहास गर्विलो छ । 

तर, यस क्षेत्रको विकास र समृद्धिमा भने यहाँका जनप्रतिनिधिहरू चुकेको गुनासो आउने गरेको छ । यस्तै गुनासा-अपेक्षा सुन्न हामी दक्षिणकालीका लागि बिहानै निस्क्यौँ । 

अहिले देश निर्वाचनमय भएको छ । स्थानीय तह निर्वाचनले देश पूरै तातेको छ । चिया पसल, चौताराहरूमा समेत निर्वाचनकै बहस भइरहेको हुन्छ । 

फर्पिङको एउटा चिया पसलमा यस्तै गरमागरम चुनावकै बहस भइरहेको थियो । बिहान साढे ८ बजे पुगेका हामी पनि चिया गफमा सहभागी होऔँ न त भनेर आफ्नो परिचय दियौँ । तर, हामी पत्रकार भन्ने थाहा पाइसकेपछि त्यहाँ रहेका केही मानिसहरू जर्‍याकजुरुक उठेर हिँड्न थाले । के भइरहेछ भनेर बुझ्न सकेनौँ । यद्यपि बाँकी रहेका २ जना शिक्षक रहेछन् । उनीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीले चिया पसलमा छाडेको घोषणापत्र पढिरहेका थिए । 

चिया पसलकी दिदीले ‘आउनुस् बस्नुस्’ भनिन् । र, शुरू गरिन् आफ्ना दुखेसो पोख्न । 

‘चान्लाखेलमा दूध बेच्न रोकेको थिएन, तर हामीलाई पुलिसले दूध बेच्न पनि दिएनन्,’ उनले भनिन्, ‘बेला–बेला पुलिसले सताउनुसम्म सतायो ।’ 

आफूलाई प्रहरीले दुर्व्यवहार गरे पनि आफ्ना कुरा कुनै नेताले नसुनेको उनले दुःखेसो गरिन् । ‘हामी सामान्य चिया बेचेर गुजारा गर्नेलाई चिया त के दूधसम्म बेच्न दिएनन्,’ उनले प्रश्न गरिन्, ‘हामीले चाहिँ बालबच्चा, परिवार पाल्न पर्दैन ?’

उनको गुनासो सुनिसकेपछि हामीले उनलाई नगरपालिकाले जनप्रतिनिधि पाएको ५ वर्ष पुग्यो, के–के विकास भयो भनेर सोध्यौँ । जवाफ उनले भनिन्, ‘जो सुकै भए पनि हुने खाने मान्छेका लागि मात्रै हो, हाम्रा समस्या कसैले सुन्दैनन् ।’

काम गरेर खान खोज्ने सर्वसाधारणलाई पनि परेका बेला स्थानीय सरकारले सहयोग नगरेको उनी बताउँछिन् । ‘निर्वाचनका बेला बेला घरपिच्छे खानेपानीको धारा दिन्छु भनेका थिए,’ उनले भनिन्, ‘एउटा सिटोमाल त गरीबले पाउन नसकेका बेला घरपिच्छे धारा त सपना नै हो ।’

उनले यसो भनिरहँदा चिया खाइरहेका दुई मध्ये एकले थपे, ‘२०४८ सालमा स्वास्थ्यचौकीमा सिटामोल पाइन्नथ्यो, अहिले २०७९ सालमा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सिटामोल पाइन्न ।’

देशमा धेरै क्रान्ति, आन्दोलन भए, कतिले शहादत प्राप्त गरे तर, पनि नागरिकको जीवनमा समृद्धि आउन नसकेको उनले बताए । 

‘घरदैलोमै स्थानीय सरकार आएर पनि सोझासाझा सर्वसाधारण नागरिकले के पाए त खै ?,’ उनी प्रश्न गर्छन् । 

पेशाले शिक्षक उनी जनप्रतिनिधिले डोजर चलाएर वातावरण र प्राकृतिक सौन्दर्यतामाथि ठूलो खेलबाड गरेको बताउँछन् । ‘५ वर्षमा विकास नै नभएको त होइन, तर प्राकृतिक सौन्दर्यतासँग ठूलो खेलबाड भएको छ,’ उनी भन्छन्, ‘जुन ठाउँमा बाटोको आवश्यकता नै थिएन, त्यो ठाउँमा पनि भूमाफियासँगको मिलेमतोमा जनप्रतिनिधिले ट्रयाक खोलिदिएका छन् ।’

अब जग्गा व्यवसायीहरूले धमाधम प्लटिङ गरेर खरिद बिक्री गर्न थालेको उनले आरोप लगाए । उनका अनुसार डाँडाको प्राकृतिक संरचना नै ध्वस्त पारेर वडा नम्बर ८ भण्डारखर्क र वडा नम्बर  ९ मा प्लटिङ गरेर कारोबार गर्न थालिएको छ । 

नगरपालिकाले कृषि क्षेत्रमा दिने अनुदान पनि किसानले भन्दा नेताका आफन्तले पाएको स्थानीयवासी बताउँछन् । 

‘हुनेखानेलाई नै अनुदानमा थ्रेसर दिएको छ, बाख्रापालनदेखि टनेल खेतीसम्मका लागि आफ्ना मान्छेलाई नै रोजीरोजी दिइएको छ,’ पसल साहुनी दिदीले भनिन् । 

यतिमात्र होइन देशको राजधानीदेखि नजिक भए पनि दक्षिणकाली नगरपालिकामा पर्यटन क्षेत्रले सोचेको उपलब्धि हासिल गर्न सकेको छैन । 

‘राजाहरूको कुल देवता भनेर दक्षिणकाली मन्दिरलाई चिन्ने गरिन्छ,’ पसलमा पछि छिरेका अर्का शिक्षकले थपे, ‘त्यसलाई नै आधार मानेर यहाँ रहेका धेरै गुम्बा, मन्दिरसहित प्राकृतिक संरचनालाई सौन्दर्यीकरण गरेर पर्यटन पूर्वाधार बनाएर पर्यटक भित्र्याउन सकिन्थ्यो । तर, ती सामान्य काम पनि जनप्रतिनिधिले गर्न सकेनन् ।’  

यहाँ सरकारी अस्पताल, प्रसूति गृह नहुँदा नगरवासी काठमाडौं नै धाउनुपर्ने बाध्यता छ । कतिपय योजना बनेर पनि अलपत्र परेको ती शिक्षकले बताए । ‘वडा नम्बर ७ मा ४०० रोपनी जग्गामा जुत्ता कारखाना बनाउने भनेर संघीय सरकारले बोर्ड झुन्ड्याएको २ वर्ष हुन लाग्यो,’ उनी भन्छन्, ‘तर न त त्यहाँ जुत्ता कारखाना बनेको छ न त त्यो जग्गामा खेती नै गरिएको छ ।’ जनप्रतिनिधिले पनि कारखाना सञ्चालन गराउन पहल नगरेको उनी बताउँछन् । 

हामीले कुरा गरेका दुई शिक्षक र चिया पसलकी दिदीले पनि आफ्नो नाम नखुलाइदिन अनुरोध गरे । खैर, हामीलाई नामभन्दा पनि स्थानीयवासीको स्थानीय चुनाव र जनप्रतिनिधिप्रतिको धारणा बुझ्नुथियो । 

कुरा सकेपछि हामी निस्कन लागेका थियौँ । त्यतिबेलै एमालेका प्रमुख पदका उम्मेदवार श्रीराम आचार्य र उपप्रमुख पदका उम्मेदवार इन्दिरा न्यौपाने पौडेल घरदैलो कार्यक्रमका लागि गाडीमा हिँडेका रहेछन् । त्यहाँ रहेका शिक्षकले हाम्रो परिचय गराइदिए । 

हामीसँगको कुरामा अर्यालले विगत ५ वर्षमा नेपाली कांग्रेसबाट जितेका मेयरले कुनै काम नगरेको आरोप लगाए । 

‘५ वर्षमा ५ अर्ब जति बजेट आयो तर नगरपालिकाका जनताले कुनै विकासको अनुभूति गर्न सकेनन्,’ उनले लोकान्तरसँग भने, ‘भएको काममा पनि भ्रष्टाचार मात्र भएको छ ।’

जनतालाई केही पनि सुविधा दिन नसकेको भन्दै उनले भने, ‘आफू रोएर पनि जनतालाई हँसाइहँसाइ काम गर्नेछु ।’ 

तर, त्यही नगरपालिकाको वडा नम्बर ५ डोल्लुमा पुग्दा भने त्यहाँका स्थानीयले भने जनप्रतिनिधिले गएको ५ वर्षमा राम्रै विकास गरेको दाबी गरे । 

३७ वर्षीया पवित्रा भुजेलले मुख्य सडकदेखि गाउँको अन्तिम किनारसम्म बाटो खोलेर सडक ढलान गरिएको बताइन् । ‘विद्यालय भवन बनेको छ, सडक, बाटोघाटो बनेको छ,’ उनले भनिन्, ‘स–सानो फुटबल मैदान बनेको छ । खानेपानीको धेरै हदसम्म समस्या समाधान गरिए पनि अपुग छ तर काम भइरहेको छ ।’

त्यहीँ ठाउँकै ५७ वर्षीय शिवहरि भुजेलले पनि पवित्राकै कुरामा समर्थन जनाए । ‘सडक बत्ती छ, बाटो बनेको छ, विकासले अझ गति लिन्थ्यो होला तर कार्यपालिकामा बहुमत नभएर धेरै पैसा फ्रिज पनि भएकाले चाहे जतिको काम गर्न सकिएको छैन,’ उनले भने, ‘कार्यपालिकामा जति विरोध गरे पनि धैर्य गर्ने शालीन स्वभावको मेयर हुनुहुन्छ ।’

विकासको नाममा चोभार कटेर दक्षिणकाली नगरपालिकाको प्रवेशद्वारमै नगरपालिकाले आकर्षक प्रवेशद्वार बनाइएको उनी बताउँछन् । 

ती दुवै जना कांग्रेस समर्थक भएकाले पनि मेयर, उपमेयर तथा ५ नम्बर वडाध्यक्षले गरेको कामको उनीहरूले प्रशंसा गरेको अनुमान लगायौं । 

डोल्लु बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको जन्मस्थान हो । पौडेलले पनि आफ्नो योजनाबाट त्यस गाउँ प्रवेश गर्ने मुख्यद्वारमा १५ लाख रूपैयाँको बजेटमा प्रवेशद्वार बनाएका रहेछन् । 

‘मुख्यमन्त्रीज्यूले आफ्नो पहलमा त्यहीँ एउटा गेट बनाइदिनुभएको छ,’ ५६ वर्षीय बाबुराम बस्नेतले भने, ‘त्यसबाहेक प्रदेश सरकारको कुनै पनि योजना गाउँमा आएको छैन ।’

स्थानीय सरकार, प्रदेश सरकार वा संघ सरकारभन्दा पनि गाउँकै मानिसले आफ्नै योगदान र पहलमा विकास गरेको उनको दाबी छ ।

विगत र वर्तमानको समीकरण 

गत स्थानीय तहको निर्वाचनमा प्रमुखमा नेपाली कांग्रेसका मोहन बस्नेत र उपप्रमुखमा वसन्ती तामाङ निर्वाचित भएका थिए । नेकपा एमालेबाट प्रमुखमा शशी शर्मा अर्याल र उपप्रमुखमा मीरा आचार्य श्रेष्ठ पराजित भएका थिए ।

अहिले फेरि नेपाली कांग्रेसबाट निवर्तमान प्रमुख र उपप्रमुखले नै उम्मेदवारी मनोनयन गराएका छन् । 

एमालेबाट नयाँ अनुहारलाई ल्याइएको छ । प्रमुखमा श्रीराम आचार्य र उपप्रमुखमा अधिवक्ता इन्दिरा न्यौपाने पौडेलले उम्मेदवारी दिएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा ज्ञानभक्त अमात्य र उपप्रमुखमा उर्मिला केसीले उम्मेदवारी दिएका छन् । 

गत निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच प्रतिस्पर्धा थियो । यसपटक नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र) सँग तालमेल गरेको छ । 

९ वटा वडामध्ये ३ वटा वडा माओवादीलाई र ६ वटा वडा कांग्रेसले राखेर एक आपसमा तालमेल गरेका छन् । 

उक्त नगरपालिकामा बहुमत जनसंख्या तामाङ समुदायका छन् । त्यसपछि बाहुन, क्षेत्री र नेवार समुदायको बसोबास छ । अहिलेको जनगणनाअनुसार २६ हजार जनसंख्या रहेको उक्त पालिकामा १८ हजार जति मतदाता छन् । 

वार्षिक ९० करोड रूपैयाँको औसत बजेट उक्त पालिकामा विनियोजन हुने गरेको छ । 

उक्त नगरपालिकाका लेखा अधिकृत गणेश गुरुङले चालू आर्थिक वर्षमा १ अर्ब २ करोड बजेट विनियोजन गरिएको बताए । ‘औसत ९० करोड रूपैयाँ बजेट विनियोजन हुने गरेकोमा ६० प्रतिशत रकम पूर्वाधार विकासमा नै खर्च हुने गरेको छ,’ गुरुङले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्