काठमाडौं २९ असार– निर्वाचित भएको एक महिना भन्दा बढि समय वितिसक्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । आइतवारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपनि स्वयम् कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन सकेको छैन् ।

जेठ २४ गते प्रधानमन्त्रीको सपथ लिएपछि देउवाले कांग्रेसका तीन, माओवादी केन्द्रका तीन तथा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलाई सहभागि गराइ ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताएका देउवाले संविधान संशोधन विधेयक पारित गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका थिए ।
संसद्मा दुइतिहाई पुग्न नसकेको भन्दै तत्काल संविधान संशोधन विधेयक अगाडि नबढाउने निश्कर्षमा पुगेका प्रधानमन्त्री देउवाले आइतवारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनका सहयोगीहरुले जनाएका छन् ।
कांग्रेसमा छलफल नै भएनप्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष थाइल्याण्डबाट फर्किएसँगै मन्त्रिमण्डल विस्तारको तयारीमा देउवा रहेको उनी निकट स्रोतले बतायो । तर पार्टीका तर्फबाट उनले मन्त्री बन्नेको छिनोफानो गर्न सकेका छैनन् । देउवाले बैठक राखेर छलफल गर्न सकेका छैनन् ।
माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएपनि कांग्रेसमा विवाद देखिएको हो ।
नेता डा रामशरण महतले सरकारका कसलाइ सहभागि गराउने भन्नेबारे पार्टीमा निर्णय नभएको बताएका छन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा पठाउन प्रस्ताव गरेका बलबहादुर केसीको नाममा देउवाले असहमति जनाएका छन् । कांग्रेस भित्र रामचन्द्र पौडेल समूह र कृष्ण सिटौला समूहका तर्फबाट पनि मन्त्री बनाउनु पर्ने र आफ्नो टीममा पनि आकांक्षी धेरै भएपछि देउवा घेराबन्दीमा परेका छन् । त्यसमा पनि खुमबहादुर खड्का पक्षधरको पनि उनीमाथि दवाब रहेको कांग्रेसका एक नेताले बताए ।
मन्त्रालयमा विवादस्रोतका अनुसार देउवा कांग्रेसलाई ११ र माओवादीलाई ८ मन्त्रालय दिने तयारीमा छन् तर माओवादीले भने १० वटा मन्त्रालयमा दाबी गर्दै आएको छ । प्रमुख सत्ता साझेदार दलहरुबीच कुन मन्त्रालय कसले लिने भन्नेमा पनि विवाद देखिएको छ ।
कमलको दाउराप्रपालाई समेत सरकारमा सहभागि गराउन देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई गरेको कांग्रेस नेताहरु बताउँछन् । सरकारमा सहभागी हुनेवारे राप्रपाभित्र पनि तीब्र विबाद छ ।
अध्यक्ष कमल थपा उपप्रधामनन्त्रीसहित सम्मानजनक हैसियत पाए आफै सरकारमा सहभागि हुने राप्रपा स्रोत बताउछ । तर बुधबार असन्तुष्ट राप्रपाका नेताहरुको बैठकले कुनै पनि हालतमा कमल थापालाई सरकारमा जानबाट रोक्ने तयारी गरेका छन् ।