
मुलुकमा पर्याप्त दूध उत्पादन हुन नसक्दा प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग हुने गरेको छ ।
विश्व खाद्य तथा कृषि सङ्गठनको मापदण्डअनुसार एक व्यक्तिलाई वार्षिक ९१ लिटर दूध आवश्यक पर्नेमा नेपालमा ७८ लिटर मात्र उपलब्ध हुने गरेको छ ।
बजारमा दूधको माग बढ्दै गए पनि सो अनुपातमा उत्पादन बढ्न नसक्दा अपुग देखिएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार गत वर्ष २३ लाख ८० हजार लिटर दूध उत्पादन भएको थियो ।
दूधको वार्षिक माग भने २८ लाख लिटर छ । राष्ट्रिय दुग्ध विकास बोर्डको ३१औँ स्थापना दिवसका अवसरमा बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले गराउनु भएको जानकारी अनुसार दूधको उत्पादन बढे पनि अझै पर्याप्त नभएको बताए ।
उनले भने, “गर्मी समयमा उत्पादनमा कमी आउने हुँदा बजार माग पूरा गर्न धुलो दूध र पाउडर दूध घोलेर बिक्री गर्नुपरेको छ ।”
दूधको उत्पादन वृद्धिका लागि कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
हाल दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख १० हजार लिटर दूध सङ्कलन गरिरहेको छ । दैनिक दुई लाख ५० हजार लिटर सङ्कलन गर्ने क्षमता भए पनि दूध उत्पादन नै कम भएकाले क्षमताअनुसार सङ्कलन हुन नसकेको बताइएको छ ।
किसानबाट सङ्कलन गरेको दूध डीडीसीले प्रशोधन गरेर बजारमा पठाउने गर्छ । निजी क्षेत्रबाट समेत ठूलो परिमाणमा बजारमा दूधको वितरण हुने गर्छ ।
बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले मुलकमा उत्पादित दूध १७ प्रतिशत औपचारिक क्षेत्रबाट र बाँकी अनौपचारिक क्षेत्रबाट बजारमा आउने गरेको जानकारी दिए । यस क्षेत्रबाट दैनिक पाँच करोड रुपियाँ तथा वार्षिक १२ अर्ब रुपियाँ सहरबाट गाउँतर्फ नगद प्रवाह भइरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।