काठमाडौं २९ असार– मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा नदिइ सरकारले अर्को मुख्यसचिव नियुक्त गर्नु गैर संवैधानिक काम भन्दै एमाले सांसद्ले आपत्ति जनाएका छन् ।

व्यबस्थापिका संसद्को बिहीवार बसेको बैठकमा सभामुखसँग समय लिएर एमाले सांसद् रेवतीरमण भण्डारीले मुख्य सचिव नियुक्तीवारे सदनमा प्रधानमन्त्रीको जवाफ माग गरेका हुन् ।
‘डा सोमलाल सुवेदी पदमा बहाल रहदा रहँदै तीन तह मुनी सहसचिवमा जागिर खुवाउन जगेडामा पठाउने काम गरेको छ’ भण्डारीले भने, ‘४४ सय रुपैयाँ पेन्सन बढाउनको लागि राजीनामा समेत नदिइ एडिबिको जागिर खान जानु नेपाल राष्ट्रको निम्तिगम्भीर प्रश्न हो, मुख्य सचिव पद खेलवाड गर्ने बिषय होइन ।’
उनले यस बिषयमा संसद्मा प्रधानमन्त्री या सरकारको मन्त्रीले जवाफ दिनुपर्ने बताए । ‘मुख्य सचिव पद दुईवटा नियुक्त गर्न मिल्छ कि मिल्दैन । यस्तो निर्णय तुरुन्त फिर्ता लिनु पर्छ’ भण्डारीले भने, ‘शक्तिको दूरुपयोग गर्न पाइदैन । सदनलाई गुमराहमा राख्न पाइदैन । प्रधामनन्त्रीले गम्भीर बिषयमा सदनमा आएर जवाफ दिनुपर्छ ।’
यसअघि सरकारे बिहीवार मात्र राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिव बनाउने निर्णय गरेको थियो ।