
काठमाडौं, २९ असार – कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले पत्रकारिताले जनतालाई न्याय दिन सक्नुपर्ने वताउनु भएको छ ।
घटना र विचार साप्ताहिकले शुरु गरेको घटना र विचार डटकम अनलाइन समाचारको शुभारम्भ गर्दै उहाँले न्यायलय र पत्रकारिता दुवै सत्यको खोजिमा जुट्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
‘पत्रकारितामा निष्पक्षता, इमान्दारिता र तथ्यको समिश्रण हुन जरुरी छ,’ पराजुलीले भन्नुभयो, ‘पत्रकारिता पेशा र पत्रकारहरु लोभ, मोह, क्रोध, अहंकार, पूर्वाग्रह र आग्रहबाट टाढा रहन सक्नुपर्छ ।’
सत्य वोल्दा पञ्चालत कालमा आफू नजरबन्दमा परेको स्मरण गर्दै पराजुलीले सत्यको खोजी गर्दा पत्रकारमाथि पनि निर्मम प्रहार हुन सक्ने भएपनि त्यसबाट सञ्चारकर्मीहरु विचलित हुन नहुने उल्लेख गर्नुभयो ।
संविधान, कानुन, मानवअधिकार र समाजप्रतिको उत्तरदायित्व वोध गर्दै पत्रकारहरुले समाचार र विचार सम्प्रेषण गर्नुपर्ने पराजुलीको भनाइ थियो ।
२२ वर्ष अघि साप्ताहिक पत्रिकाका रुपमा सञ्चालनमा आएको घटना र विचारले २३ औं वर्ष प्रवेशको अवसर पारेर अनलाइन सेवा शुरु गरेको हो ।
घटना र विचार साप्ताहिकका संस्थापक एवं सम्पादक देव प्रकाश त्रिपाठीले घटना र विचार अनलाइन समाचार मार्फत छिटो हुनेभन्दा आफूहरुले तथ्यपूर्ण हुने विषयलाई प्राथमिकता दिने बताए ।
२२ वर्षको कालखण्डमा अनेकन आरोह अवरोह झेलेको स्मरण गर्दै त्रिपाठीले अव अनलाइन समाचार मार्फत राष्ट्र, प्रजातन्त्र, धार्मिकता, सत्यता लगायतका विषयमा अविचलित र निर्भक भएर लागिरहने उल्लेख गरे ।