
भारतीय काँग्रेस आईका उपाध्यक्ष राहुल गान्धी सोमबार काठमाडौँ आएका छन् ।
भारतीय विमान भिस्टारा 'यूके –१५५’ जहाजबाट सोमबार दिउँसो ४ः०८ बजे उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
विवाह समारोहमा सहभागी हुन पाहुनाका रूपमा काठमाडौं आएका गान्धीको भ्रमण अनौपचारिक तथा नितान्त व्यक्तिगत रहेको भन्दै गोप्य राखिएको छ ।
पूर्वजानकारीबिना काठमाडौं ओर्लिएका गान्धीसँग प्रहरीले सुरक्षा व्यवस्थाबारे चासो व्यक्त गरेको थियो ।
प्रहरीका अनुसार गान्धीले आफू निजी र पारिवारिक समारोहमा सहभागी हुन काठमाडौं आएकाले त्यस्तो कुनै औपचारिक सुरक्षा आवश्यक नपर्ने बताएका थिए ।
गान्धीको भनाइ उद्धृत गर्दै एक सुरक्षा अधिकारीले भने, “निजी र पारिवारिक समारोहमा सहभागी हुन आएको हुँ । त्यस्तो औपचारिक सुरक्षा आवश्यक पर्दैन ।”
गान्धी काठमाडौं ओर्ले लगत्तै नक्सालस्थित होटल मारिएट पुगेका थिए । गोरखापत्र दैनिकमा खबर छ ।