०९ असार २०८३, मंगलबार

इलामका २ वटा हत्याकाण्डमा संलग्नहरू पक्राउ गरेपछि सार्वजनिक

बैशाख २१, २०७९
इलामका २ वटा हत्याकाण्डमा संलग्नहरू पक्राउ गरेपछि सार्वजनिक
प्रतिकात्मक तस्वीर

इलाममा भएका २ छुट्टाछुट्टै हत्यामा संलग्न अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी सार्वजनिक गरेको छ ।

इलाम नगरपालिका–८ सिङफिरिङकी ३१ वर्षीया विनिता काफ्ले र देउमाई नगरपालिका–७ का सन्तोषवाला राईको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामले बुधवार पत्रकार सम्मेलन गरी २ वटा घटनाका हत्याका अभियुक्तलाई सार्वजनिक गरेको हो । 

प्रहरीले इलाम–८ सिङफिरिङकी काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यापछि शव गाडेको अवस्थामा फेला पारेको र पछि काफ्लेका दाजु दिनेश काफ्लेले जिल्ला प्रहरी कार्यालय इलाममा किटानी उजुरी दर्ता गराएका थिए ।

किटानी जाहेरीपछि स्थानीय र प्रहरीको टोलीले खोजी गर्ने क्रममा वैशाख २० गते महभिरको जंगलबाट रिमाललाई पक्राउ गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार मृतक काफ्ले र अभियुक्त रिमालबीच विगत १० वर्षदेखि चिनजान रहेको र ३ वर्षयता घनिष्ट सम्बन्ध रहेको बताइएको छ । मृतक काफ्ले र रिमालबीच शारीरिक सम्बन्धसमेत रहेका कारण महिलाले विवाह नै गरेर लैजानुपर्ने बताएपछि रिमालले उनको हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरी सूचना अधिकारी थापाको भनाइ छ ।

मृतक काफ्लेका पतिको २ वर्षअघि मात्र विदेशमा मृत्यु भएको थियो । उनीहरूका ४ वर्षीय १ छोरी रहेका बताइको छ । मृतक र अभियुक्तबीच आर्थिक लेनदेन समेत हुने गरेको थियो ।

काफ्ले वैशाख १५ गते माइत जाने तयारी भएपछि अघिल्लो दिन नै रिमालले उनको ज्यान लिएको बताइएको छ । 

यता, इलाम देउमाई नगरपालिका–७ का सन्तोषवालाको हत्या अभियोगमा सोही स्थानका भूपेन राई र चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख १७ गते शुक्रवार देउमाई–७ चुलीगाउँस्थित पूर्णबहादुर दहालको भिरालो जमिनमा सन्तोषवालाको शव फेला परेको थियो ।

खोजी गर्ने क्रममा प्रहरीले सन्तोषवालाको हत्यामा संलग्न भएको भन्दै भूपेन र चन्द राई दाजुभाइलाई पक्राउ गरेको छ । उनीहरूलाई पनि बुधवार नै सार्वजनिक गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी थापाका अनुसार मदिरा सेवन गरेर सन्तोषवालाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सन्तोषवालाको भूपेन र चन्द्रले ढुंगा प्रहार गरी हत्या गरेको बताइएको छ । २ व्यक्तिसहित हत्यामा प्रयोग भएको ढुंगा समेत जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ ।

मृतककी पत्नी सीता राईले वैशाख १६ गतेको घटनामा संलग्न भएको भन्दै कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि प्रहरीलाई अनुसन्धानमा सहज भएको थियो । दुवै घटनामा संलग्नलाई म्याद थप गरी अनुसन्धान शुरू गरिएको इलामका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्