
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँ झै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुति लिएर उपस्थित भएका छौँ ।
कीर्तिमानी आरोही कामिरीता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । शनिबार साँझ उनीसहितको १० जनाको टोलीले ८८४८.८६ मिटर अग्लो सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।
कामिरीता सेभेन समिट ट्रेकको वरिष्ठ आरोही गाइडका रुपमा कार्यरत छन् । उनले पहिलो पटक मेइ १३, १९९४ मा सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता उनले एकै सिजनमा ४ पटकसम्म सगरमाथाको आरोहण गरेका छन् । उनले शनिबार बनाएको यो आफ्नै कीर्तिमानी रेकर्ड हो ।
००००
वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि तुलनात्मक रुपमा बढी मतदाता भएका र सुरक्षालगायत दृष्टिले संवेदनशील मानिने विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ का दफा ५ प्रयोग गरी आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो ।
टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, पर्यवेक्षणका काम, निर्वाचनको विश्वसनीयता र स्वच्छता आदि विषयमा अनुगमनको जिम्मेवारी पाएको छ । उक्त दफामा आयोगले आयोगका पदाधिकारी वा कर्मचारी वा नेपाल सरकारका कर्मचारी वा प्रदेश सरकारका कर्मचारी वा विशेषज्ञसहितका टोली गठन गरी निर्वाचन प्रचारप्रसार, मतदान, मतगणना वा निर्वाचनसँग सम्बन्धित अन्य काम कारबाहीको अनुगमन गर्न वा गराउने सक्ने व्यवस्था गरिएको छ ।
००००
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया निर्वाचन आचारसंहिता पालना नगर्नेप्रति रुष्ट भएका छन् । उनले आचारसंहिता पालना नगर्नेलाई मतदाताले कारबाही गर्नुपर्नेमा पनि जोड दिए । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनलाई अन्तरवार्ता दिँदै उनले दलहरुले आचारसंहिता पालना गर्छु भनेर प्रतिबद्धतामा हस्ताक्षर गरेपनि अक्षरश पालना हुन नसकेको भन्दै आक्रोश पोखेका हुन् ।
थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई भोट दिने बेलामा चार चोटी सोच्न आह्वान गरे ‘आम मतदाता र आम नागरिकहरुलाई एउटा आह्वान गर्छु आज, मैले गरेको थिइनँ । सम्भवतः आयोगको तर्फबाट यो भन्न मिल्छ कि मिल्दैन अहिले त्यो पनि सोचिरहेको छु’, थपलियाले भने, ‘तर, आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई मतदान दिने बेलामा चारपल्ट सोच्नुहोस् ।’
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा गठबन्धनका पाँचै दललाई एउटै बट्टामा पोको पारेर मिल्काउने बताएका छन् । नेकपा एमाले विराटनगरले गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनका नेताहरूको बोली २७ गतेसम्म मात्रै भएको बताएका हुन् । वैशाख ३० गतेपछि गठबन्धनको ‘टाइँटाइँ फिस’ हुने समेत उनले बताए । गठबन्धन बनेपछि देशमा राम्रो काम केही नभएको पनि ओलीले बताए ।
००००
सुर्खेतको वीरेन्द्रनगर मंगलगढी चोकमा स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि झण्डा राखिएका दुई गाडीमाथि आगजनी गरिएको छ ।
शनिवार अपराह्न २ बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी चोक नजिकै सत्कार होटल सडक छेउमा रोकी राखेको बा१४च ६८३१ नम्बरको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको झण्डा राखिएको स्कार्पियो गाडीमा अपरिचित व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
००००
निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । यस्तै पत्रकार महासंघका अध्यक्षसँग पनि स्पष्टीकरण माग भएको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले पार्टीलाई ‘नष्ट हुन दिने तर भ्रष्ट हुन चाहिँ नदिने’ बताएका छन् । अहिलेसम्म ठुला भनिएका एमाले र काँग्रेसका जनप्रतिनिधिहरुले कर बढाउने र भ्रष्टाचार गर्ने बाहेक केही काम गर्न नसकेको आरोप लगाए ।
शनिबार पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले आयोजना गरेको विशेष चुनावी आमसभालाई सम्बोधन गर्दै लिङ्देनले जनतालाई भ्रष्ट व्यक्तिहरुलाई चुनावमा हराउन आह्वान गरे ।
००००
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनविरोधी कुरा आफूलाई सह्य नहुने बताएका छन् ।
शनिवार जनकपुरको तिरुतियामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसबाट गठबन्धनका विरुद्ध कुरा उठ्न नहुने बताएका हुन् ।
गठबन्धन टिकाउनु आफ्नो कर्तव्य भएको पनि उनले बताए । यस्तै उनले मधेशमा नागरिकतासम्बन्धी समस्या ठूलो रहेको भन्दै त्यसको समाधान गर्ने पनि प्रतिबद्धता जनाए ।
००००
यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन खुल्ने बित्तिकै नागरिकता विधेयक अगाडि बढाउने बताएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेशमा अझै पहिचान र अधिकारका कुरा अपूरो भएको भन्दै नागरिकता विधेयक जसरी पनि अगाडि बढाउने बताएका हुन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । यसैगरी गठबन्धनको शनिबार नै बुटवल लगायतका स्थानमा पनि चुनावी सभा भएका थिए ।
००००
झापामा दाइजो मागेको भन्दै बेहुला पक्राउ परेका छन् ।
विवाहमा दाईजोको विषयमा विवाद गर्ने बेहुला झापा गाउँपालिका ४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
००००
पाँच वटा पत्रकार संगठनले सत्ता गठबन्धनलाई भोट मागेका छन् । एक विज्ञप्तिनै जारी गरेर सत्ता गठबन्धन निकट पत्रकारको संगठनले भोट मागेपछि सामाजिक सञ्जालमा आलोचना समेत भएको छ । बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न मतदाताहरूमा अपिल गर्दै पत्रकार संगठनले भोट नहालेर हुने सानो भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भूमरीमा जान सक्ने खतरा औंल्याएका छन् ।
यसरी विज्ञप्ति जारी गर्नेमा नेपाल प्रेस यूनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघ रहेका छन् ।
००००
पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको मस्कट र प्रतीक चिह्न सार्वजनिक गरिएको छ । कस्तूरी मृगलाई मस्कटका रूपमा छानिएको छ । गण्डकी प्रदेशमा पाइने लोपोन्मुख र संरक्षण प्राणी भएकाले कस्तूरी मृग छानिएको खेलकुद मन्त्रालयले जनाएको छ ।