
निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ ।
तर, आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले आफ्नो भेला तथा र्यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएको छ ।
आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गरेर बालबालिकाको अत्यधिक प्रयोग गर्नेमा नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अग्रपङ्क्तिमा छन् ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले वस्तुगत रूपमा प्रमाण पुग्यो र आचारसंहिताविपरीत बालबालिकाको प्रयोग भएको ठहर भए कानुनबमोजिम कारबाही हुने दाबी गरे।
आयुक्त भण्डारी केन्द्रीय आचारसंहिता अनुगमन समितिको संयोजक छन् ।
उनले बालबालिकाको प्रयोग गर्ने राजनीतिक दललाई जवाफ दिन निर्देशन दिइएको जानकारी दिए ।
उनले यसो भनिरहँदा राष्ट्रिय बाल अधिकार परिषद्ले कुन मितिमा कहाँको जुलुस तथा सभामा कति सङ्ख्यामा बालबालिकाको प्रयोग भएको स्पष्ट रूपमा उल्लेख गरेर उजुरी दिएको छ ।
परिषद्ले वैशाख १२ गतेदेखि २५ गतेसम्म विभिन्न २२ वटा र्याली तथा जुलुसमा बालबालिकाको सहभागी सम्बन्धमा अध्ययन गरेको थियो ।