०८ साउन २०८३, शुक्रबार
स्थानीय चुनाव

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै दलहरू, पार्टीगत गीतले जनताको टाउको दुखाइ

बैशाख २६, २०७९
निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै दलहरू, पार्टीगत गीतले जनताको टाउको दुखाइ

राजनीतिक दलहरूले चुनावको मुखमा निर्वाचन आचारसंहिता विपरीत बजार क्षेत्रलाई कोलाहल मच्चाएका छन् । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित दलहरूको प्रचारप्रसार तीब्र छ । गाडी र ई–रिक्सामा चर्को आवाजमा पार्टीगत गीत घन्काउँदै उम्मेदवारको प्रचारप्रसार गर्दा गाउँशहरमा ठूलो आवाजले जनताको टाउको दुखाइ भएको छ ।

प्रमुख राजनीतिक दलहरू बिहानैदेखि राति अबेरसम्म ठूलो आवाजमा पार्टीगत चुनावी गीत बजाइरहेका छन् ।

प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) का गीतहरूले अहिले लुम्बिनी प्रदेश मुकाम बुटवल लगायत जिल्लाभर ‘माइकिङ’ गरिरहेका छन् ।

रुपन्देहीका निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले दलहरूका गीत घन्काएर हिँड्ने प्रचारप्रसार शैली आचारसंहित विपरीत रहेको बताए । ‘दलहरूले यस्तो गर्न पाइँदैन,’ अधिकारी भण्डारीले लोकान्तरसँग भने, ‘सानो हाते माइक उम्मेदवारको गाडीमा मात्रै राख्न पाइन्छ । गाडीमा २ वटा झण्डा, एउटा चुनाव चिह्न मात्र राखेर हिँड्ने हो । अरु गर्न पाइँदैन । यस्तो गर्ने दलको नाममा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पनि गर्नुपर्छ ।’ 

बुटवलका व्यवसायी रमेश रम्तेललाई छिनछिन पसल अगाडिबाट चर्को साउन्डमा बज्दै ओहोरदोहोर गर्ने गीतले हैरान बनाएको छ । उनी सबै राजनीतिक दलले यस्ता कार्य रोक्नुपर्ने सुझाव दिन्छन् । ‘मतदाताले कसलाई मत दिने भनेर मानसिकता बनाइसकेका छन्,’ उनी भन्छन्, ‘ध्वनी प्रदुषण गराउँदै भोट केमा फलानोमा भन्दै डिजे साउन्ड बजाउनु बजारवासीको टाउको दुखाइ भएको छ ।’ 

अहिले दलहरूको चुनावी प्रचार शैली भड्किलो छ । हरेक घरमा चोकचोकमा पार्टीका चुनाव चिह्न र झण्डा फहराइएका छन् । यस्तो कार्य गर्न पनि निर्वाचन आचारसंहिताले दिँदैन । दलहरूले अहिले निर्वाचनको अन्तिम रापतापमा छन् ।

बुटवलकी अर्की स्थानीय हिरादेवी शर्माले विगत १ हप्तादेखि शान्त शहरलाई बिहानैदेखिको चर्को स्वरको साउन्डले अशान्त जस्तै बनाउन थालेको बताइन् । ‘उम्मेदवारसँग पार्टीले गर्ने घरदैलोमा गाडीको लावा–लस्कर देखिन्छ, प्रायःजसो सबै गाडीहरूमा ठूला साउन्ड सिस्टम जोडिएका छन्,’ उनले भनिन् ।

निर्वाचन अधिकृतको कार्यालय बुटवलका अधिकृत लेखनाथ पौडेलले बजारमा ध्वनि आतंक भएको भन्दै नियन्त्रणको लागि भनेर आफूलाई फोनबाट पटक–पटक फोन आउने गरेको बताए । 

‘यो कार्य आचारसंहिता विपरीतको कार्य हो,’ पौडेलले लोकान्तरसँग भने, ‘मैले दलहरूलाई पनि फोनबाटै सचेत गराएको छु । केही कुराहरू सम्बोधन पनि भएका छन्, केही भएका छैनन् । कार्यालयमा उजुरी चाहिँ अहिलेसम्म परेको छैन । परेछ भने स्पष्टीकरण सोधिन्छ ।’

निर्वाचन आचारसंहिताप्रति दलहरूको ध्यान नपुगेको पौडेलको बुझाइ छ । दलका नेताहरूले मतदाता शिक्षाप्रति ध्यान दिनुको साटो गीत घन्काउनमा ध्यान दिएको पौडेलले बताए ।
 
नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले निर्वाचन आचारसंहिताप्रति आफूहरू सचेत रहेको दाबी गरे । ‘गीत बजाउने विषय ठूलो होइन,’ उनी भन्छन्, ‘सत्तारुढ गठबन्धनले कति बजाएको छ हेर्नुस् ! त्यसलाई काउन्टर दिन केही ठाउँमा हाम्रो पनि बजेका होलान् तर निर्वाचन आचारसंहिता पालनाप्रति हाम्रो पार्टी पूर्ण रूपमा सचेत छ ।’ 

नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले ख्याल गर्दागर्दै पनि पार्टी र गठबन्धनका संयुक्त गीतहरू बजेको स्वीकार गरे । ‘दलहरूमा आएका नवप्रवेशीहरूले डिजे साउन्डको रवाफ देखाएका छन्,’ उनले भने, ‘नयाँ युवाहरूलाई रोक्न सकिएन । फेरि गीत घन्काउँदैमा मतदाताले भोट दिने पनि होइनन् । बौद्धिक मान्छेलाई त यो कार्य घृणा लाग्छ नि !’

आचारसंहिता विपरीतका कार्य रोक्न आफूले पहल गर्ने अर्यालले बताए । दलहरू चुनावको अन्तिम कसरतमा छन् । एमाले एक्लै र कांग्रेससहित सत्ता गठबन्धन एकठाउँमा छन् । पार्टीका शीर्ष नेताहरू देश दौडाहामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्