
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका नेकपा एमाले, नेपाली कांग्रेस तथा माओवादी केन्द्रको गठबन्धन र नेकपा एकीकृत समाजवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
नेकपा एमालेबाट मेयर पदका लागि रामशरण ढुंगाना र उपमेयरमा शान्ता थापा उम्मेदवार छन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट मेयरमा उपेन्द्र कार्की र माओवादी केन्द्रबाट भोला चापागाईं उपमेयर पदका उम्मेदवार छन् ।
कांग्रेस र माओवादीबीच मेयर तथा उपमेयर पदमा तालमेल गरिएको छ। त्यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयरमा निवर्तमान मेयर कृष्णहरि थापा र उपमेयरमा सरस्वती नेपाल उम्मेदवार छन् ।
गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरमा कृष्णहरि थापा र उपमेयरमा बिन्दु पुडासैनी (सिंखडा) निर्वाचित भएका थिए। तर निवर्तमान मेयर थापाले एमाले छाडेर नेकपा एसबाट मेयर पदका लागि उम्मेदवारी दिएका छन् ।
गत स्थानीय निर्वाचनमा कुल ९ वडा मध्ये ६ वडामा एमालेले र ३ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेका थिए ।
१ नम्बर वडामा एमालेबाट मुकुन्द गजुरेल, २ नम्बर वडामा कांग्रेसबाट सुदर्शन धिमाल, ३ नम्बर वडामा एमालेबाट राममणि पुडासैनी, ४ नम्बर वडामा कांग्रेसबाट भाइकाजी अधिकारी, ५ नम्बर वडामा एमालेबाट राजाराम पुडासैनी वडाध्यक्षमा निर्वाचित भएका थिए।
६ नम्बर वडामा एमालेबाट जितेका वडाध्यक्ष प्रकाश फुयाँल हाल नेकपा एकीकृत समाजवादीमा छन्।
७ नम्बर वडामा नेपाली कांग्रेसबाट वडाध्यक्षमा जितेका जीवन थापा हाल नेकपा एमालेमा छन् ।
८ नम्बर वडामा एमालेबाट श्रीकृष्ण चापागाईँ र ९ नम्बर वडामा एमालेबाटै कुन्दन खड्का विजयी भएका थिए । उनीहरू एमालेमै छन् ।
गत चुनावमा मेयर पदमा ५ सयको हाराहरीमा र उपमेयरमा ११ सयको हाराहारीमा मतान्तर थियो।
नेकपा एमाले नगर कमिटीको कार्यालयमा भेटिएका एमाले नगर अध्यक्ष ज्योतिराम फुयाँल एमालेले फेरि पनि चुनाव जित्ने दाबी गरे। 'नगरपालिकाभित्र रहेका १०८ टोल कमिटी, १६ जनसंगठन र २ हजार ९ सय संगठित सदस्यको चुस्त संगठनका आधारमा नै पनि हामी चुनाव जित्छौं,' फुयाँलले लोकान्तरसँग भने, 'एमालेको विचार र हामीले नगरपालिकामा उठाएको उम्मेदवारको व्यक्तित्वले पनि चुनाव जित्छौं ।'
एमालेबाट मेयरका उम्मेदवार ढुंगाना पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालमा कर्मचारी आन्दोलनमा लाग्दा उनको जागिर गएको थियो । अदालतमा मुद्दा जितेपछि पुनर्बहाली भएलगत्तै राजीनामा दिएर नेकपा एमालेबाट राजनीति शुरू गरेको उनले बताए।

२०३८ सालदेखि नै माले भएर राजनीतिमा सक्रिय संगठित सदस्य भण्डारीले २०४९ सालमा साविकको भद्रबास गाविसमा वडाध्यक्ष जितेका थिए । २०५४ सालको स्थानीय निर्वाचनमा उनी एमालेबाट सोही गाविसको गाविस अध्यक्षमा निर्वाचित भएका थिए। भद्रबास हाल कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ३ मा पर्छ ।
त्यसपछि उनी पार्टीको जिल्ला सचिवालय सदस्य, स्कूल विभाग प्रमुख हुँदै हाल एमाले बागमती प्रदेश कमिटी सदस्य छन् । केपी शर्मा ओली सरकारले गठन गरेको भूमि समस्यासम्बन्धी आयोग काठमाडौंको ६ महिनासम्म अध्यक्ष पनि रहेको फुयाँलले बताए।
'संगठनभित्र अनवरतरूपमा गरेको योगदानको आधारमा पनि हाम्रो उम्मेदवार जित्छ,' फुयाँलले लोकान्तरसँग भने, 'कांग्रेस र माओवादीबीच गठबन्धन भएपनि वा समाजवादीसहित अन्य दल भिडे पनि एमालेसँग कुनै तुलना नै छैन ।'
एमालेबाट मेयर पदका उम्मेदवार ढुंगाना स्थलगत भेटिएनन्। फोन गर्दा पनि घरदैलोमै व्यस्त रहेकाले प्रतिक्रिया दिन नसकिने बताए ।
'बिहानदेखि बेलुकासम्मै व्यस्त रहेका कारण समय दिन सक्दिनँ, त्यसका लागि सरी है,' ढुंगानाले लोकान्तरसँग फोनमा भने।
त्यसैगरी नेपाली कांग्रेसका मेयर उम्मेदवार उपेन्द्र कार्कीलाई पनि स्थलगत भेट्न सकिएन । फोन सम्पर्क गरेर प्रतिक्रिया लिन खोज्दा २-३ दिनपछि मात्र प्रतिक्रिया दिने बताए ।

'घरदैलोमा व्यस्त भएका कारण दुई ३ दिनपछि मात्र म प्रतिक्रिया दिन सक्छु,' कार्कीले लोकान्तरसँग फोनमा भने।
आवश्यकता परे मेयरमा एमालेसँग पनि तालमेल गर्न सक्छौं : निवर्तमान मेयर
निवर्तमान मेयर थापा भने पार्टीगत मतभन्दा तटस्थ मतदाताको मत लिएर चुनाव जित्ने दाबी गर्छन्।
सत्तापक्षीय गठबन्धन गर्दा नेकपा एसले पहिलो नम्बरमा मेयर पाउनु पर्ने हो तर नेपाली कांग्रेसले नमान्दा छुट्टाछुट्टै भिड्नु पर्ने अवस्था आएको उनले बताए।
'मैले गएको ५ वर्षमा ९ वटै वडाहरूमा गरेको कामको आधारमा तथा ६० देखि ७० प्रतिशतसम्म रहेका तटस्थ मतदाताको मतले म जित्छु,' उनले लोकान्तरसँग भने, 'कांग्रेस र माओवादीसँग हाम्रो गठबन्धन हुन सकेन । आवश्यक परे मेयर पदका लागि हामी नेकपा एमालेसँग पनि तालमेल गर्न सक्छौं।'

गएको स्थानीय निर्वाचनमा आफू एमालेबाट निर्वाचित भए पनि अहिले घरदैलोमा जाँदा नयाँ चिह्न लिएर जनताको बीचमा गइरहेको उनले बताए ।
३५ हजार ६९१ कुल मतदाता रहेकोमा २५ हजार जति मतदान हुने तथा १० हजार मत ल्याए जित्न सकिने हिसाब उनले सुनाए ।
'सबै पार्टीको पार्टीगत मत २५ देखि ३० प्रतिशतसम्म मात्र हो, बाँकी ७० प्रतिशतसम्म त न्युट्रल भोट नै हो,' उनले लोकान्तरसँग भने, 'त्यही न्युट्रल भोट पाएर म फेरि पनि चुनाव जित्छु ।'