काभ्रे, ३० असार - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रजातान्त्रिक अभ्यास भएको देशमा पनि सामाजिक सञ्जालमार्फत लोकतन्त्रको दुरुपयोग भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रथम नगरसभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “सामाजिक सञ्जाल पक्कै पनि अलिअलि भए पनि पढेलेखेकैले प्रयोग गर्छन् तर उनीहरुको शब्द हेर्दा कुनै पनि हिसाबबाट शिक्षित भन्न मिल्दैन”, ओलीले भन्नुभयो ।
अर्काे प्रसङ्गमा उहाँले लोकतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट नै व्यावहारिक अभ्यासको आवश्यकता रहेको बताउनुभयो । पुरानो इतिहास बोकेको पनौतीमा जलविद्युत्, पर्यटनलगायत विभिन्न क्षेत्रमा प्रशस्त सम्भाव्यता रहेको र प्राकृतिक दृष्टिकोणले पनि निकै सुन्दर भएकाले यहाँको विकासका लागि नयाँ स्थानीय नेतृत्वले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले भूमाफियाबाट सावधान रहन जनप्रतिनिधिलाई आग्रह गर्दै आफ्नो क्षेत्रको विकासका लागि गुरुयोजना तयार गर्नसमेत सुझाव दिनुभयो ।
नगरसभामा प्रजिअ शिव सिंखडाले पनौती नगरपालिकामा बजेट खर्चमा समस्या आएमा आफ्नो क्षेत्रबाट साथ दिन सधैँ तत्पर रहेको बताउनुभयो । पनौती नगरपालिकाका प्रमुख भीम गौतमले पनौती क्षेत्रको पर्यटनलगायत अन्य क्षेत्रको विकासका बारेमा प्रकाश पार्नुभयो ।