
वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न निर्वाचन आयोगले तदारुकता देखाएको छ ।
उक्त दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा बर्सातको पानीबाट बच्न पाल÷त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्नका लागि आयोगले सबै स्थानीय तहले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको छ ।
साथै सोको आवश्यक समन्वय एवं सहजीकरणका लागि गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।