
रुपन्देहीको बुटवलमा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारको गाडीमा तोडफोड गरेका छन्। बुटवल उपमहानगरपालिका १२ का वडा अध्यक्षका उम्मेदवार देवी रेग्मी सवार रहेको वा २० च ६७८५ नं. को ईसुजुको डबल क्याप गाडीमा सोमबार साँझ तोडफोड भएको हो।
बुटवल १२ नयाँगाउँ चोकमा ६१८३ नम्बरको स्कुटरमा आएका तीन जनाको समूहमा रहेकाहरुले एकाएक गाडीमा ढुंगा प्रहार गरेका थिए। उनीहरुको ढुंगा प्रहारबाट गाडीको अगाडीको सिसा फुटेको छ। आक्रमणपछि गाडीलाई प्रहरीले सुरक्षामा राखेको छ भने आक्रमणमा संलग्नहरु फरार रहेको प्रहरीले जनाएको छ। रुपन्देही गृहमन्त्री बालकृष्ण खाँण गृह जिल्ला हो ।

नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले पराजित मानसिकताका साथ एमालेका उम्मेदवार माथि साङ्घातिक आक्रमणमा उत्रिएको आरोप लगाए। पराजित मानसिकताले आक्रमणमा उत्रिनु निन्दनीय भएको उल्लेख गर्दै यस्ता घटनाबाट विचलित नभई निर्वाचन लक्षित कार्यक्रममा केन्द्रित हुन एमाले नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
यसैबीच इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठग बहादुर केसीले घटनाको अनुसन्धान भइरहेको बताए ।